
काठमाडौं : नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेशन शो 'हर्ट कुटोर फेशन फियस्टा' हुने भएको छ।
क्रिजोना नेटवर्क प्रालि काठमाडौंको आयोजनामा हुन लागेको कार्यक्रममा फेशन शो का साथै डिजाईनहरुबीचको प्रतिस्पर्धा र मेकअप सोकेस समेत हुनेछ। डिजाईनर प्रतिस्पर्धामा २५ जनाको सहभागिता गराईने छ।
जेरा मोडेल्स क्रियटिभ लण्डन, डिएमिना म्यागेजिन इटालीको सहकार्यमा नेपाली फेशन इन्डष्ट्रिजलाई अन्तर्राष्ट्रिय फेशन इन्डष्ट्रिजसंग सम्बन्ध बढाउने मूख्य उद्देश्यले आयोजना गरिएको कार्यक्रमको अहिले तयारी तिव्र पारिएको क्रिजोना नेटवर्कका सिईओ अशिम श्रेष्ठले जानकारी दिए।
फेशन शो का लागि देशका मूख्य शहरहरुमा अडिसन समेत हुँदैछ। जसअन्तर्गत यही जेठ १९ र २० गते काठमाडौंको एभरेष्ट फिल्म एकेडेमी नयाँ बानेश्वरमा हुने मा पहिलो अडिसन हुने इभेन्ट म्यानेजर सुबास श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार शुक्रबार (जेठ १९) गते बिहान ११ देखि ३ बजेसम्म र शनिबार बिहान ११ देखि ४ बजेसम्म अडिसन हुनेछ।
अडिसनबाट अन्तिम शो का लागि ४० जना छनौट हुनेछन्।
छनौटमा परेकाहरुलाई २१ दिनको स्पेशल प्रशिक्षण, अन्तर्राष्ट्रिय मोडलिङ एजेन्सीको सदस्यता प्राप्त गर्ने, विदेशमा हुने फेशन शो मा जाने अवसर प्रदान गरिने क्रिजोना नेटवर्कका जेनेरल म्यानेजर समिर शर्माले जानकारी दिए।
यस्तै छनौटमा परेकाहरुलाई एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षणका लागि ७० प्रतिशत सम्मको छात्रवृत्ति समेत प्रदान गरिने एभरेष्ट फिल्म एकेडेमीका कार्यकारी निर्देशक विशाल श्रेष्ठले जानकारी दिए।
अडिसनका लागि फर्म नयाँ बानेश्वरको एभरेष्ट फिल्म एकेडेमी, वेभ म्यागेजिनको कार्यालय पुलचोक, काठमाडौंमा रहेका वर्गर हाउसका शाखाहरु, न्यूरोडको जेसीपेनी रेष्टुरेण्ट, नक्सालको अर्किड रेष्टुरेण्ट, दरबार लाउन्ज एण्ड रेष्टुरेण्ट दरबार मार्गमा पाईने आयोजकले जनाएको छ।
यस कार्यक्रमलाई सफल बनाउन फेशन सम्बन्धि क्षेत्रमा विशिष्ट पहिचान बनाएका इटाली, लण्डन र लेबनानका व्यक्तिहरु नेपाल आउने आयोजकले जनाएको छ । फेशन शो मा युवा र युवती गरि ४० जना र्याम्पमा उत्रिने, डिजाईनरमा २५ जनाबीच प्रतिस्पर्धा हुने क्रिजोना नेटवर्क प्रा.लि.का व्यवस्थापन प्रमुख जेनु ध्वजुले जानकारी दिए।