PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मेयर आउनुअघि विरुवामा मलजल, सडकमा पिच



आकाश क्षेत्री

मेयर आउनुअघि विरुवामा मलजल, सडकमा पिच

काठमाडौं : दुई दिनअघि काठमाडौं महानगरको मुख्यालयको ढोकैमा थुपारिएको फोहोर र खल्ड्याङखुल्डुङ सडक देखिन्थ्यो। दुई दिनपछि आइतबार त्यही महानगरको कार्यालय पुग्दा फोहोर कन्टेनरमा कोचिँदै थियो भने खाल्टाखुल्टी कालोपत्रले पुरिँदै थियो। 

काठमाडौं महानगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएकै दिन महानगरले आफ्नो मुहारमा लिपपोत तीब्र बनायो। महानगरको मेयरमा विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। केही दिनमा उनले यहाँको सत्ता सम्हाल्दै पनि छन्। त्यसैले महानगर कार्यालय नवनिर्वाचित मेयरका लागि नयाँ कार्यालय र कार्यालय परिसर सरसफार्इमा जुटेको छ।  

महानगर कार्यालयको मुल ढोका अगाडि कालोपत्रे गरिरहेका एक कामदारका अनुसार महानगर परिसरमा काम थालेको दुर्इ दिन भयो। 

महानगर कार्यालय परिसरमा कालोपत्रे मात्र होइन कार्यालयका भवन र कार्यकक्षमा समेत रङरोगन थालिएको छ। कार्यालय परिसरमा फूलका नयाँ गमला र नयाँ विरुवा थपिएका छन्। पुरान गमलामा पनि गोडमेल र मलजल जारी छ। 

आज मेयर घोषणा भएलगत्तै विद्यासुन्दर शाक्यले सहयोगी पठाएर अवलोकन गर्न लगाएका छन्।

काठमाडौं महानगरको कार्यालय छेवैमा रहेको जेडिए कम्प्लेक्समा मेयरका लागि कोठा तयार हुँदैछ। भूकम्पीय जोखिम भएको भन्दै जेडिए कम्प्लेक्सबाट अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेन हटेको थियो। भलै भूकम्पले भवनलाई क्षति पुर्‍याएन। जेडिए कम्प्लेक्सको छैटौं तल्लामा मेयरको 'कर्पोरेट' शैलीको कार्यालय तयार हुँदैछ। तर पूरा रुपमा तयारी अवस्थामा पुग्न अझै एक साताभन्दा बढी लाग्ने त्यहाँ काम गरिरहेका देवबहादुर रार्इले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell