PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

काठमाडौँमा एमालेको शानदार विजयमा चाणक्य बनेका कृष्ण



ऋषिकेश दाहाल

काठमाडौँ : जतिखेर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरु चुनाव हुन्छ कि हुँदैन भन्ने अन्यौलमा थिए त्यतिखेर मैदानमा उत्रिसकेका थिए उनी। राष्ट्रिय राजनीतिमा आएका चर्का विवाद र बहसलाई कसरी 'क्यास' गर्ने भन्ने रणनीति बनाउन सक्रिय उनको आँकलन थियो – काठमाडौंमा कम्तिमा ५ नगरपालिका जित्ने, २ मा कडा टक्कर दिने र महानगरपालिका 'कब्जा' गर्ने। 

यही लक्ष्यअनुसार उनले पार्टी हाइकमाण्डसामु आग्रह गरे, 'यसपटकको चुनाव हाँक्न दिनुस्। म देखाउँछु।'

उनको चाहना पूरा भयो र जिम्मेवारी पनि पाए। पार्टीले गरेको विश्वासलाई चुनावी परिणामबाट देखाए पनि। 

उनी अर्थात् कृष्ण राई। वर्ष ४७। नेकपा एमाले काठमाडौंका जिल्ला अध्यक्ष। 

गुटको चर्को राजनीतिले गाँजेको थियो काठमाडौं जतिखेर उनी नेतृत्वमा आए। शीर्ष दलका नेताहरु एकअर्काप्रति कटु आलोचना गर्न सक्रिय रहँदा यिनी भने चुनावी तयारीमा लागिसकेका थिए। भारतमा निर्वाचनबाटै मोदी लहर ल्याउने रणनीतिकार अमित साहले प्रयोग गरेका 'ट्रिक'देखि ओबामाको इलेक्सन क्याम्पेनिङसम्म नियालिरहेका कृष्णका लागि स्थानीय तहको निर्वाचन एउटा सफल प्रयोग पनि भयो।
 
फेसबुकमा कृष्ण राईको फोटोलाई महाभारतकालीन दृश्यसँग मोन्टाज गरेर एमाले कार्यकर्ताले जयजयकार पनि गरे। 

'त्यस्तो पनि गरेका छन् र? मैले त हेरेकै छैन,' चुनावी सफलतामा रमाउँदै गरेका राईले अनभिज्ञता जनाए। तर, भेटिँदा उनी निक्कै प्रफुल्लित देखिए। 'चाहेको भए एउटा नगरपालिकामा मेयर हुने थिएँ, त्यत्ति हो,' मन्द मुस्काउँदै सुनाए, 'जसले जे दियो त्यहीमात्र खाने योग्यता होइन नि मेरो। २० वर्षअघि नै स्थानीय निकायमा रहेर काम गरिसकेको छु।' 

कृष्णको नेतृत्वमा काठमाडौंका १० मध्ये ६ नगरपालिका एमालेले बहुमत वडासहित जितेको छ। ४ नगरपालिका गुमाउँदा पनि दुई वटा नगरपालिकामा मात्र एमाले अल्पमतमा छ। मेयरमा पराजित हुँदा पनि उपमेयर जितेकै छ। सबैभन्दा रोचक त उनले जति 'टार्गेट' तय गरेका थिए – त्यो पूरा भएको छ। काठमाडौंलाई एमालेमय बनाउने 'किङ्गमेकर' भन्छन्, 'गरेको हिसाब फेल खाएन।'

काठमाडौँ जिल्लाको मत परिणाम सबैभन्दा पहिले पूर्व शंखरापुर नगरपालिकाबाट आयो। १० नगरपालिका र एक महानगरको धनी काठमाडौंको अन्तिम मतपरिणाम जिल्लाको मध्यमा रहेको महानगरपालिकाबाट आज आयो।  पूर्वबाट काठमाडौंमा उदाएको ‘सूर्य’ महानगरपालिकामा फराकिलो अन्तरमा जित हासिल गरिसक्दा सबैभन्दा शक्तिशाली पार्टीका रुपमा पनि स्थापित भएको छ। संविधानसभाका दुई निर्वाचनमा काठमाडौंबाट करिब-करिब पत्तासाफ भएको पार्टी एकाएक सबैभन्दा बलियोमात्र बनेन, नगरपालिकामात्र रहेको जिल्लामा आफ्नो पुरानो वर्चश्व स्थापित गर्न सफल रह्यो। 

कसरी भयो एमालेको कमब्याक?  

पञ्चायतकालदेखि नै राजधानी काठमाडौं कम्युनिस्ट किल्ला हो। त्यो किल्लामा सबैभन्दा बढी हालिमुहाली एमालेकै थियो। नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईजस्ता नेपाली राजनीतिका हस्तीसमेत यो किल्ला भत्काउन असफल थिए। तर, पछिल्ला दुई निर्वाचनमा भने एमालेको किल्ला उसको वर्चश्वबाट बाहिरियो। २०६४ सालमा माओवादी र २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसले काठमाडौंमा आफ्नो वर्चश्वको झन्डा फहराउँदा एमाले करिब-करिब किनारा लागेको आंकलन गरेका थिए धेरैले। 

कृष्णका सामु किल्लामा कमब्याक हुनु चुनौति थियो। 

'यस्तो अवस्थामा किन पुगियो भनेर स्टडी थाल्यौं,' संकटलाई सफलतामा रुपान्तरण गर्ने योजनाका पोकापुन्तुरा खोल्न थाले उनले, 'हेर्दै र बुझ्दै जाँदा त हामी कांग्रेसजस्तै धारमा आइसकेका पो रहेछौं। पुँजीवादी धारका पार्टीले प्रयोग गर्ने मसल र मनीले बिगारिसकेको रहेछ।'

नेतृत्व लिएलगत्तै उनले पहिचान गरेको तथ्य यही थियो – एमाले त कांग्रेस झै मास बेस पार्टी पो बन्दैछ त। नेताहरु अधिवेशनमा मात्र सक्रिय हुने। कमिटीमा पद नछाड्ने। काम भने फिटिक्कै नगर्ने। संसदीय अभ्यासमा जाने तर सदस्यता वितरणमा कञ्जुस्याईँ गर्ने।    

२०७२ देखि पार्टीको काठमाडौं कमाण्ड सम्हालेका उनले समस्याका चाङहरु धेरै पहिचान गरे। 'लेनिनले भने झैँ असल कार्यकर्ता बन्न पार्टी सदस्य बन्नुपर्छ, निस्वार्थ भावले पार्टीमा समर्पित हुनुपर्छ,' रणनीतिको सैद्धान्तिक आधार प्रस्ट्याउँदै उनले भने, 'मालपोत कार्यालय चलाए जसरी त पार्टी चल्दैन। त्यसैले पुरुष पार्टी सदस्य छ भने उसको परिवारलाई पनि सदस्यता वितरण गर्न थाल्यौं। सदस्य बनिसकेपछि पार्टीमा ओनरसीप हुने रहेछ।'


काठमाडौँमा मेयरको विजयी घोषणा भइसकेपछि कृष्ण (रातो गोलो चिह्न लगाइएका)  

कृष्णको रणनीति : आइटीबाट सक्रियता

सबैजसो पार्टीका कार्यकर्ता प्रश्न गरिरहेका थिए- चुनाव त हुन्छ? कृष्णले भने त्यतिञ्जेल तयारी पूरा गरिसकेका थिए। पार्टीको संगठनलाई बलियो बनाउन सक्रिय रहेकै बीच तीन महिनाअघिदेखि चुनावी रणनीति बनाएर होमिइसकेका थिए।

'केन्द्रले नगरेको काम हामीले यो निर्वाचनमा गरेका छौं,' उनले सुनाए, 'होटेल यल्लो प्यागोडामा स्टेसन नै तयार गरेर सूचना प्रविधिलाई चुनावमा कसरी प्रयोग गर्न सकिन्छ भनेर काम थाल्यौं।' 

एक दर्जन आइटी प्रोफेसनलहरु उनको चुनावी रणनीतिमा सक्रिय थिए। उनीहरु प्रचारका कन्टेन्ट तयारमात्र होइन त्यसलाई कसरी बढीभन्दा बढी भोटरसम्म पुर्‍याउने भनेर सक्रिय थिए। एमाले काठमाडौंले आफ्ना कार्यकर्तालाई सामाजिक सञ्जालको उपयोग गर्ने सीप चुनावको ६ महिनाअघि देखि नै सिकाउन सुरु गरेको थियो। 

'राजनीति पनि अब क्लिकमा आधारित हुनु आवश्यक थियो,' कृष्णले भने, 'जिल्लाको प्रचार विभाग त्यसमा परिचालन भयो।' 

पार्टी सदस्य रहे पनि पार्टीको सैद्धान्तिक आधार के भन्ने ज्ञान कार्यकर्तामा नरहेको पाएपछि उनले प्रविधिलाई झन बढी प्रयोग गर्न लगाए। 'फेसबुक चलाउन जान्ने तर पार्टीका निर्देशनहरु इमेल खोलेर पढ्न नसक्ने?,' प्रश्न गरे। अनि आक्रमक रुपमा सक्रिए भए – मोबाइल एप्लिकेसन/सामाजिक सञ्जालबाटै पार्टीका एजेन्डाहरु फैलाउन।

देशभित्रै र केही विदेशमा समेत पढेर फर्किएका आइटी प्रोफेसनलहरुमार्फत् राष्ट्रिय राजनीतिमा आएका कुरालाई कसरी 'क्यास' गर्ने भनेर सिकाउन सक्रिय रहे। 

'हेर्नुस् त यो चुनावमा कुन ठाउँमा स्थानीय मुद्दा चुनावी इस्यु बन्यो?,' मिडिया पढेका राईले भने, 'सबैको चुनावी एजेन्डा त राष्ट्रियमात्र थियो, चुनावभने स्थानीय। त्यतिखेर राष्ट्रिय राजनीतिका मुद्दालाई प्रयोग गर्न सकियो।'

उनको टीमले सामाजिक सञ्जालका लागि सामग्री तयार पार्‍यो। भिडियोहरु बनायो। उपलब्धिहरुलाई बुकलेटमा उतार्‍यो र सबैकहाँ पुर्‍ययो। 'हामी जसरी भए पनि चुनाव जित्नेभन्दा जसरी पनि जनताको मन जित्ने भन्नेमा केन्द्रित थियौं,' उनले दार्शनिक शैलीमा सुनाए। 


एमालेले काठमाडौँको मेयर उम्मेदवार घोषणा गर्ने कार्यक्रममा कृष्ण (पछाडिको लहरमा सबैभन्दा दायाँ)

भाजपाकै शैलीमा कार्यकर्ता परिचालन

भारतको उत्तर प्रदेशमा जुन शैलीमा भारतीय जनता पार्टी (बिजेपी)ले चुनावी रणनीति लिएको थियो, कृष्णको टीमले पनि त्यही शैली अपनाए। कार्यकर्तालाई भोटरको जिम्मेवारी तय गरे। 

'हामीले मतदाता सूचीका आधारमा कार्यकर्ताको जिम्मेवारी तय गरेका थियौं,' उनले चुनावी सूत्रबारे भने, 'नगरमा आधारित कमिटीहरु बनायौं र कार्यकर्ता साथीहरुलाई भोटर लिस्टअनुसार जिम्मेवारी दियौं।'

कार्यकर्ताहरु घर-घर र मतदाता-मतदातासम्म पुगेर चुनावी छलफल थालिसक्दा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु भने चुनाव हुने नहुने विषयमै अल्मलिरहेका थिए। यसले एमालेको अभियानलाई बलियो बनाउँदै थियो। 

स्थानीय निर्वाचनअघि नै एमालेले संघीय संरचनाअनुसार क्षेत्र कमिटी, प्रदेश कमिटी, नगर कमिटी र गाउँ कमिटी बनाइसकेको थियो। नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा क्षेत्रीय समितिकै नेतृत्वमा भिड्यो अरु संरचनामा उसले ध्यान दिएन। नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीको मुखिया त तोक्यो तर त्यसलाई विस्तार गरेन। दुई प्रमुख दलको कमजोर रणनीतिका बीच कृष्णको चुनावी लीला चल्यो। काठमाडौंका नगरमा निस्किएका विजयी जुलुसमा सबैभन्दा धेरै सूर्य चिह्नकै झन्डा हल्लियो।

जहाँ एमाले नराम्ररी पछारियो

कृष्णको लिडरसीपमा काठमाडौंमा एक किसिमको कब्जा भए पनि चार नगरपालिकामा एमाले दोस्रो बन्यो। गोकर्णेश्वर, दक्षिणकाली, नागर्जुन र चन्द्रागिरी नगरपालिका एमालेको पोल्टाभन्दा बाहिर पर्‍यो। भलै वडामा उसले वर्चश्व कायम गरेको होस्।
 
कृष्णकै गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले मेयर र उप-मेयरमा कब्जा गर्‍यो। 'जिल्लाभरि नै हेर्नुपर्दा आफ्नो ठाउँलाई धेरै समय दिन नसकेको हुँ,' सजिलै स्वीकारे उनले। 

धेरै आकांक्षीहरु थिए उनको नगरपालिकामा मेयर बन्न। पार्टीको वरियताक्रममा माथि रहेकाहरुभन्दा केही तल रहेकाले टिकट पाए। गोकर्णेश्वरमा दुई तिहाइ बस्ती सिन्धुपाल्चोकको क्षेत्र नम्बर ३ बाट बसाइँ सरेर आएकाहरु छन्। त्यही आधारमा हुनुपर्छ उम्मेदवार छान्दा एमालेले रैथाने रोजेन र हार बेहोर्‍यो।

पूर्वको शंखरापुर नगरपालिकाबाट एमालेको सूर्योदय भएलगत्तै दक्षिणको दक्षिणकाली नगरपालिकामा कांग्रेसले सूर्यलाई परास्त गर्‍यो, रुखले काठमाडौंमा जरो गाड्यो। त्यहाँ अन्तर्घात भएको एमालेजनको बुझाइ छ। नागार्जुन नगरपालिकामा तगडा उम्मेदवार आफैले टिकट पाउनु पर्ने भन्दै टसमस भएनन्। त्यसैको प्रतिफल एमालेले कमजोर उम्मेदवार चयन गर्‍यो। दुई उम्मेदवारका प्रत्यासीका विवादले तेस्रो प्रत्यासीका रुपमा रहेका पर्यटन व्यवसायी उम्मेदवार भए। प्रतिस्पर्धामा खासै चासो नदिइरहेका व्यक्तिलाई उम्मेदवार तय गर्दा त्यहाँ एमाले पराजित बन्यो।

चन्द्रागिरीमा एमालेले दुई पटक गाउँ विकास समितिका अध्यक्ष भइसकेका पाका उम्मेदवार छान्यो। तर, अन्तर्घात र पटकपटक एकै व्यक्तिलाई जिम्मेवारी दिएको झोक फेरे – भोटरहरुले। त्यहाँ अन्तर्घातको सिकार बन्यो एमाले।    

 

केन्द्रमा काठमाडौं महानगर

काठमाडौंका १० नगरपालिका एकतिर हुँदा पनि सबैभन्दा चासो भने काठमाडौं महानगरकै हुने गर्छ। देशकै पुरानो महानगरमा एमालेले लगभग कब्जा गरिसकेको छ। एमालेले १८ वटा वडामा अध्यक्ष जित्यो भने कांग्रेसले वडाअध्यक्ष जितेका ठाउँहरुमा पनि सदस्यहरु एमालेबाट निर्वाचित भएका छन्। 

काठमाडौंको भोटरमध्ये २५ देखि २७ प्रतिशत नेवार छन्। भित्री शहरमा बसोबास गर्ने यो समुदाय नै जहिले पनि यहाँको चुनावमा निर्णायक बन्ने गर्छ। त्यसमा पनि बौद्धमार्गी सम्प्रदायको बाहुल्य छ। एमालेले त्यही रणनीतिमा उम्मेदवार तय गर्‍यो- विद्यासुन्दर शाक्य जो काठमाडौँ जिल्ला सचिव थिए।
 
'काठमाडौंमा हामीले कसरी जित्ने भन्ने मात्र सुरुमा तय थियो,' कृष्णले भने, 'त्यसैले रैथानेमात्र होइन तालमेलसमेत गर्न पुग्यौं। हाम्रो तालमेलले कांग्रेसलाई अत्यायो र उसले हतारमा बाहिर जिल्लामा गरेको तालमेलले हामीलाई फाइदा नै पुग्यो।' 

उनका अनुसार राप्रपासँगको तालमेल तत्कालीन आवश्यकता नै थियो। 'हामीले राप्रपासँग तालमेल नगरेको भए राप्रपा कांग्रेससँग तालमेलमा जाने पक्का थियो। उसलाई कांग्रेससँग जोडिन नदिन पनि हामीले तालमेल गर्नै पर्‍यो,' उनले सुनाए।

काठमाडौंलाई कम्युनिस्ट किल्ला बनाउन नेतृत्व लिएका कृष्ण के हुन् त? 

'मैले पद नलिँदा धेरै कार्यकर्तालाई न्याय गर्न सकेँ। अब प्रदेशको निर्वाचनमा जानुछ। केन्द्रको राजनीतिमा सक्रिय हुनुछ,' उनले कुटनीतिक जवाफ फर्काए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell