
काठमाडौँ : राष्ट्रपति र उपराष्ट्रपतिका सन्तति नै राज्यले दिने मान पदवीबाट सुशोभित भएको आलोचना सेलाउन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई राज्यले सुप्रवल जनसेवाश्रीबाट सुशोभित गर्ने भएको छ।
दशौँ गणतन्त्र दिवसका अवसरमा घोषित मान पदवी पाउँने व्यक्तिको नामावलीमा प्रधानमन्त्री पुत्र प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचीमा छ। पदक घोषण भए पनि प्राप्त गर्न केही समय लाग्नेछ।
प्रधानमन्त्री पुत्र प्रकाशले समाजसेवीका रुपमा उक्त पदक पाउने भएका हुन्। सुप्रवल जनसेवाश्री पाउनेको सूचीमा १०९औँ नम्बरमा प्रकाशको नाम उल्लेख छ।
उक्त पदक पाउनेमा अधिकांश नेपाल सरकारका कर्मचारी रहेका छन्। जसमा बहालवाला सचिव, सहसचिवको बर्चस्व छ। सुरक्षा निकायका उच्च अधिकारी र अवकाशप्राप्त सरकारी कर्मचारी पनि उक्त सूचीमा छन्।
यसअघि उपराष्ट्रपति पुत्र दीपेश पुनले जनसेवाश्री पदक पाएका थिए। एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीलाई मरणोप्रान्त दिएको नेपाल रत्न विभुषणबाट उनका छोरीहरु उषाकिरण र निशाकुसुम भण्डारीलाई सुशोभित गरिएपछि आलोचना भएको थियो। बावुको पदक ग्रहण गर्न मिले पनि सुशोभित गराएको भन्दै आलोचना भएको थियो। यद्यपि उक्त पदक निशा र उषाको नभई स्वर्गीय बावुको नामको थियो। नवौँ गणतन्त्र दिवसका अवसरमा घोषित उक्त पदक केही दिनअघि दिइएको थियो।
तस्विर : प्रकाश दाहालको फेसबुकबाट