
चितवन : नेकपा एमालेले भरतपुर महानगरपालिकाको स्थगित गरिएको मतगणना सुचारु गर्न माग गरेको छ। एमालेको चितवन जिल्ला कमिटीले पत्रकार सम्मेलन आयोजना गरेर मतगणना सुचारुको माग गरेको हो।
एमाले जिल्ला कमिटी अध्यक्ष कृष्णभक्त पोखरेलले पुन: मतदान गराउने षड्यन्त्र भैरहेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताए।
'निर्वाचन आयोगलाई तत्काल मतगणनाका लागि आग्रह गर्दछौँ', पोखरेलले पत्रकार सम्मेलनमा भने, 'मतदानबाट भएको अभिमत अस्वीकार गर्ने र पुन: मतदान गराउने षड्यन्त्र त्यसलाइ कुनै हालतमा स्वीकार गर्दैनौँ।'
उनले अझै पनि मतहरु सुरक्षित रहेकाले त्यही मतको आधारमा फैसला गर्नुपर्ने बताए।
एमालेले मुख्य निर्वाचन अधिकृतलाई पटक-पटक सुरक्षा अवस्था र माओवादी केन्द्रका कार्यकर्ताको गतिविधिबारे जानकारी गराए पनि वेवास्ता गरिएको आरोप समेत लगाएको छ।
'मतगणना कार्यमा पटक-पटक गरिएको अवरोध, ढिलासुस्ती र फितलो सुरक्षा तथा माओवादी केन्द्रका कार्यकर्ताले बेला बेलामा गरेको असमान्य व्यवहार जस्ता कारणले कुनै पनि बेला केही पनि घटना घट्न सक्छ भन्ने जानकारी निर्वाचन अधिकृतलाई गराईएको थियो', एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, हाम्रो आग्रहलाई गम्भीरताका साथ नलिँदा घटना घट्यो।'
एमालेले च्यातिएको मतपत्र अलग राखी तत्काल गणना गर्नुपर्ने माग राखे पनि निर्वाचन अधिकृतले माग सुनुवाइ नगरी स्थगित गरेको आरोप लगाएको छ।
एमालेले भरतपुरको मतगणना सुचारु गर्न केन्द्र र जिल्लामा दबाब दिने जनाएको छ।
भरतपुरका मुख्य निर्वाचन अधिकृतले आइतबार राति आफू बाथरुमबाट फर्केर आउँदा मतगणना स्थल रणभूमि बनेको बताएका थिए।
मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना हाल स्थगित रहेको छ। मतपत्र च्यात्ने घटनाअघि कुनै विवाद भए नभएको जानकारी आफूलाई नरहेको मुख्य निर्वाचन अधिकृतले बताएका छन्।
वडा नं १९ को ७५ प्रतिशत मत गणना भैसक्दा एकाएक मतपत्र च्यात्ने घटना भएको थियो। नेकपा एमालेले मतपत्र च्यात्ने कार्यमा माओवादी केन्द्रका कार्यकर्ता सहभागी रहेको आरोप लगाएको छ। मतगणना जारी रहँदा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल र एमाले उम्मेद्वार देवी ज्ञवाली भन्दा सात सय मतअन्तरले पछाडि थिइन्।