PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

पाँच वर्षमा पनि सकिएन ‘गणतन्त्र स्मारक’ निर्माण 



रासस

पाँच वर्षमा पनि सकिएन ‘गणतन्त्र स्मारक’ निर्माण 

काठमाडौँः नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि पूरा भएको छैन। 

सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर (विकोइ विल्डर्स प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि)लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइएपनि पाँच वर्ष बितिसक्दासमेत निर्माण कार्य नसकिएको हो। 

३५ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकका लागि सुरुमा सरकारले ३५ करोड रुपैयाँ छुट्याए पनि खर्च अपुग भएका कारण पछि थप पाँच करोड रुपैयाँ थपिदिएको थियो। 

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिएपनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको स्वीकार गरे।

उनले स्मारकमा राख्न हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने नेपालको नक्सा नआइसकेकाले काम ढिला भएको बताए।

स्मारकभित्र द्वन्द्वकालमा मारिएका सहिद, राज्यबाट बेपत्ता पारिएका, घाइते भएका र हराएका व्यक्तिको सम्झनामा छुट्टाछुट्टै स्तम्भ निर्माण गरिएको छ। 

निर्देशक श्रेष्ठले अब चाँडै नै स्मारक उद्घाटन हुने बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell