PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

वीरगञ्जमा को बन्दैछन् मेयर र उपमेयरका उम्मेदवार?



राधेश्याम पटेल

वीरगञ्जमा को बन्दैछन् मेयर र  उपमेयरका उम्मेदवार?

वीरगंज : नेपालकै प्रमुख आर्थिक नगरी वीरगंजमा चुनावी सरगर्मी एक सातायता ह्वात्तै बढेको छ। मुख्य दलका नेताहरुले चिया पसल, टोल तथा ग्रामिण भेगमा प्रचारप्रसार र चुनावी अभियानलाई तीब्र पारेका छन्।

दुई नम्बर प्रदेशको प्रमुख शहर वीरगंजको चुनावी गतिविधि कुन रुपमा अघि बढ्दै छ, को-को उठ्दैछन्, कसले जित्ला, कसले हार्छ भन्ने प्रश्न सबैतिर सुनिन्छ।

स्थानीय तहको निर्वाचनमा दोस्रो इनिङमा वीरगंजको मेयर तथा उपमेयरको कुर्सीमा कसलाई बसाउने विषयमा राष्ट्रिय जनता पार्टी नेपालबाहेक अन्य सबै दलका जिल्लास्तर तथा केन्द्रका शीर्ष नेताहरुबीच गहन छलफल जारी छ। एक दुई दिनभित्रै उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने तयारी भएको छ।

कुन पार्टीबाट को उम्मेदवार बन्दैछन् त वीरगंजमा?

कांग्रेस –ओमप्रकाश शर्मा

वीरगञ्जमा सांसद राजेन्द्रबहादुर आमात्यको शाख जोगाउन पनि मेयरमा कांग्रेसले बलिया उम्मेदवार छनौट गर्ने तयारी गरेको छ।

कांग्रेसबाट पर्साका पार्टी सभापति अजयकुमार द्विवेदी र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा पूर्व सभासद् ओमप्रकाश शर्माको नाम चर्चामा छ। तर, टिकट ओमप्रकाश शर्मालाई मिल्नसक्ने कांग्रेसका कतिपय नेताले बताएका छन्।

शर्मा भन्छन्,‘मैले वाणिज्य संघको कार्यबाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष गोपाल केडियालाई दिने तयारी गरिसकेको छु। यदि टिकट पाएँ भने जनताको सेवा गर्नेछु।’

शर्मालाई टिकट दिइए सभापति अजयकुमार द्विवेदीकी पत्नी सुष्मा तिवारी उप प्रमुख पदमा चुनाव लड्ने पक्का हुनेछ। 

एमालेबाट –सुन्दर प्रसाद कुर्मी र निर्मला देवकोटा

वीरगंज उप महानगरपालिकाको मेयरमा एमालेबाट सुन्दर प्रसाद कुर्मी तथा महिला नेतृ निर्मला देवकोटाको नाम चर्चामा छ। एमालेले उप प्रमुखमा युवा नेता अरबिन्द सिंह तथा एमाले पर्साका पूर्व अध्यक्ष चिरञ्जीवी आर्चायकी पत्नी सोफिया आचार्यको नाम सिफारिस गरेको छ।

एमालेबाट मेयरमा महिला नेतृ निर्मलाले टिकट पाइन् भने उपमेयरमा अरबिन्द सिंहको ठाउँ पक्का हुन्छ र मेयरमा कुर्मीले टिकट पाए भने उपमेयरमा महिला नेतृ आचार्यलाई भिडाउने एमालेको तयारी छ।


माओवादीबाट–बसरुद्दीन अन्सारी

नेकपा माओवादी केन्द्रले दोस्रो संविधानसभामा पर्सा क्षेत्र नम्बर २ बाट पराजित बसरुद्दीन अन्सारीलाई  वीरगंजको मेयरका लागि चुनावमा उठाउन लागेको छ।
 
पर्सामा कांग्रेस, एमाले र फोरमको तुलनामा माओवादी अलि कमजोर भएकाले उसले प्रभावशाली नेता उठाउन लागेको हो।

नेता अन्सारीबाट नै माओवादीको ग्राफ माथि उठाउन सकिने विश्वासका साथ उनलाई चुनावी मैदानमा उतार्ने पार्टीको तयारी छ। अन्सारी स्थानीयवासी, मुस्लिम तथा आर्थिक हिसाबले सम्पन्न व्यक्ति भएकाले उनी एमाले कांग्रेसमा मत विभाजन गराई आफू चुनाव जित्ने दाउमा छन्। माओवादीले उपमेयरमा दुर्गा यादव, हीरा भट्टराई मध्ये एकलाई उठाउने पक्का छ।

फोरमबाट–विजय सरावगी

संघीय समाजवादी फोरमबाट ‘हेभिवेट’ उम्मेदवारको रुपमा वीरगंजका चर्चित उद्योगी विजय सरावगी मेयरमा उठ्ने पक्कापक्की भएको छ।

भोलि पार्टीले निर्णय गरी उम्मेदवारको छिनोफानो गर्दैछ। फोरममा उद्योगी सरावगी उठेपछि वीरगंजका उद्योगी व्यवसायी तथा मारवाडी समुदायको भोट पनि मिल्नसक्ने अनुमान गरिएको छ। 

उनले वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

वीरगंजमा पहिलो पटक बाबा रामदेवलाई ल्याउन र योग शिविर आयोजना गर्न उनले नै संयोजकको भूमिका निर्वाह गरेका थिए।

उप प्रमुखमा पूर्व कृषि राज्यमन्त्री करिमा बेगम, चन्दा भट्टराई र फोरम पर्सा अध्यक्ष प्रदीप यादवकी पत्नी पिंकी यादवको नाम चर्चामा छ। 

राजपाबाट–विमल श्रीवास्तव

राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचन बहिष्कार गरी आन्दोलनमा सडक तताउँदै छ। 
राजनीतिक सहमति भएको अवस्थामा राजपा नेपाल चुनावमा सहभागी हुनेछ। राजपाका प्रबल सम्भावना बोकेका उम्मेदवार हुन् विमल श्रीवास्तव। उनीसँग वीरगंजको मेयर बनेर विकास गरेको लामो अनुभव छ।

उनलाई राजनीतिका चतुर खेलाडी तथा रातारात मतदाताको मनस्थिति बदल्ने कला भएको व्यक्तिका रुपमा चिनिन्छ। कतिपय अन्य पार्टीका नेता पनि उनलाई निर्वाचनको ‘गेम चेन्जर’ भनेर पनि चिन्दछन् ।

राजपाबाट अन्य दुई जना नेतामा शिव पटेल र राजेशमान सिंहको नाम पनि चर्चामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell