PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

चार महिनामा काठमाडौंमा बक्सअफिस, देशभरका लागि डेढ वर्ष लाग्ने



पहिलोपोस्ट

चार महिनामा काठमाडौंमा बक्सअफिस, देशभरका लागि डेढ वर्ष लाग्ने

काठमाडौं: चार महिनाभित्र काठमाडौं भित्रको लागि बक्स अफिस सर्भर सुरु हुने बताइएको छ। चलचित्र पत्रकार संघले आयोजना गरेको 'स्पिकर्स कर्नर'को पहिलो संस्करणमा चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईले उक्त जानकारी दिएका हुन्। उनले बक्स अफिस स्थापनाको काम तीन चरणमा गरेर सम्पन्न हुने बताए। भने,पहिलो चरणमा काठमाडौं भित्रका सिनेमा हलहरुका लागि सर्भर सेट गर्नेछौं, दोस्रो चरणमा देशभरका मुख्य शहरहरुमा र तेस्रो चरणमा दुर्गम क्षेत्रका हलहरुमा बक्स अफिसको सर्भर सेट हुनेछ।'

प्रविधिको विकाससँगै नेपाली फिल्म निर्माताहरुका लागि पनि बक्स अफिस आवश्यक देखिएको राईको दाबी छ। भने,'निर्माताहरुले वितरकमाथि शङ्का गर्ने वातावरण हटाउन बक्स अफिसले सहयोग गर्न सक्छ।'

स्पिकर्स कर्नरको पहिलो संस्करणमा नेपाली फिल्म इन्डस्ट्रीमा बक्स अफिसको आवश्यकता, बक्स अफिसको फाइदा र बक्स अफिस स्थापनाको चुनौतीहरु बारे छलफल गर्‍यो। विषयमाथि बोल्न चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय र चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले र निर्देशक एवं निर्माता दीपेन्द्र के खनाल डाकिए।

'बक्स अफिस तत्कालको आवश्यकता होइन। दर्शकको फ्लो फिल्मको कमाइ हो र त्यही कमाइ बक्सअफिस रेकर्ड हो', बक्सअफिस स्थापना निकै हतारको विषय नभएको बताउँदै निर्माता माधव वाग्लेले भने, 'राम्रो फिल्म बनाउन सके उठेको पैसाले चित्त बुझ्छ नसके बुझ्दैन।'  

फिल्म इन्डस्ट्री विकास नभएसम्म बक्सअफिस निर्माताहरुको चित्त बुझाउने बाटो मात्र बन्ने उनको धारणा छ।



फिल्म निर्माता एवं निर्देशक दीपेन्द्र के खनालले पनि बक्स अफिसले नेपाली फिल्मको व्यवसायमा धेरै ठूलो सकारात्मक परिवर्तन नगर्ने बुझेका छन्। 'पारदर्शिताको कुरा हो। बक्स अफिस भए पनि नभए पनि को कति इमानदार रहन्छ भन्ने कुरा हो', दीपेन्द्र के खनालले बक्सअफिस बारे आफ्नो धारणा राख्दै भने, 'बक्स अफिस समयको माग हो जसले फिल्मको व्यापार हिसाब गर्न सजिलो र सिस्टमेटिक बनाउँछ।' 

बक्स अफिसको आवश्यकताबारे छलफल हुन थालेको पाँच वर्षमा पनि आवश्यक काम नभएको भन्दै चलचित्र संघका अध्यक्ष प्रदीप उदयले भने,'बक्सअफिस भएको राम्रो हो। पारदर्शिता कायम गर्न सहयोग पुग्छ तर यो नै सबै परिवर्तनको आधार भने होइन।'

उनले हल व्यवसायीहरुलाई निर्माताले लगाउँदै आएको आरोप बारे असहमति व्यक्त गरे। 'हल व्यवसायीले पैसा लुकायो भन्नु आरोप मात्र हो। कसैले लुकाउँछ नै भने उसलाई बक्स अफिसले पनि रोक्दैन', उदयले बताए। उदयका अनुसार देशभरका हलहरुमा एउटै सर्भर सहितको बक्स अफिस स्थापनाको लागि डेढ वर्ष लाग्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell