
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नयाँ उर्जा र उत्साहका साथ भाग लिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
पार्टीको २८ औं स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय चावहिलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले एउटा निर्वाचनमा पराजय हुँदैमा पार्टीको सिद्धान्त र कार्यक्रम समाप्त भयो भन्ने भ्रममा नपरी जोस र जाँगरका साथ दोस्रो चरणको निर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।
राप्रपा बुलेटमा नभइ ब्यालेटमा विश्वास राख्ने जिम्मेवार राजनीतिक शक्ति भएकाले नीति, सिद्धान्तप्रति प्रतिबद्ध रहँदै जनताको मन जित्ने काममा निरन्तर लाग्ने उनले स्पष्ट पारेमा छन्।
उनले भने,‘हामी कति पटक लड्यौं, कति पटक हार्यौं, त्यो भन्दा पनि कतिपटक उठेर हिंड्यौं भन्ने महत्वपूर्ण कुरा भएकोले लक्षमा पुग्न राप्रपा उच्च मनोवलका साथ दृढतापूर्वक अघि बढिरहन्छ ।’
वरिष्ठ नेता पशुपतिशमशेर राणाले पहिलो चरणको निर्वाचनमा पार्टीले अनपेक्षित परिणाम ल्याएपनि त्यसबाट निरुत्साही हुने अवस्था भने नरहेको बताए।