
काठमाडौंः डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिताअन्तर्गत भएका खेलमा जेसीस एभरेष्ट र सिद्धार्थ शिशु सदन विजयी भएका छन्।
सोमबार भएको पहिलो खेलमा जेसीजले शारदा उच्च माविलाई ७ रनले पराजित गरेको हो।
टस जितेर व्याटिङ गर्दै निर्धारित २० ओभरमा सबै विकेट गुमाएर जेसीज स्कुलले १ सय ११ रन बनायो। जेसीसका लागि रमेश बमले २१, जीवन खड्का र दीपेन्द्र भुलले समान १२/१२ रन बनाए। जेसीसले ४३ रन अतिरिक्त पाएको थियो।
बलिङमा शारदा उच्चमाविका कमल ओलीले ३ र विनोद ठगुन्नाले २ विकेट लिए। १ सय १२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको शारदा उच्च मावि एक सय ४ रनमै समेटिएको हो।
त्यस्तै, आजै भएको दोश्रो खेलमा सिद्धार्थ शिशु सदनले त्रिभुवन उच्चमाविलाई २४ रनले पराजित गरेको छ।
टस जितेर व्याटिङ गरेको सिद्धार्थले १३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ६२ रन बनायो। सिद्धार्थका कलेन्द्र बोगटीले अविजित २१ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा त्रिभुवनका नरेन्द्र चन्दले ४, रोहित तामाङले ३ तथा समिर रानाले २ विकेट लिए।
६३ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको त्रिभुवन उच्चमावि ११ दशमलव ३ ओभरमा ३८ रनमा समेटिएको हो।
सिद्धार्थका युवराज शाहले ११ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
त्रिभुवनलाई सस्तैमा समेट्ने क्रममा सिद्धार्थका रितेश पार्कीले ३, बिनोद खत्री र यासीस चन्दले समान २/२ विकेट लिए। सिद्धार्थका रितेश पार्की म्यान अफ द म्याच घोषित भए ।