PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘एभरेस्ट म्याराथन’ को उपाधि सुमन र निरकलालाई



रासस

सोलुखुम्बु : विश्वकै सर्वाधिक उचाइमा हुने ‘एभरेस्ट म्याराथन’ २०१७ को पुरुषतर्फको उपाधि सोलुखुम्बु गुदेलका सुमन कुलुङ र महिलातर्फको उपाधि सोलुखुम्बुकै निरकला राईले हात पारेका छन्।

आज भएको प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किमी दूरी सुमनले तीन घन्टा ४३ मिनेट ५७ सेकेन्डमा र निरकलाले चार घन्टा ५१ मिनेट ३३ सेकेन्डमा पार गरेका हुन्। प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका सुरेन्द्र बस्नेत तीन घन्टा ५२ मिनेट ०८ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र नेपाली सेनाकै वेदबहादुर सुनुवारले चार घन्टा ५ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भएका छन्।

महिलातर्फ सोलुखुम्बकै पूर्णिमा राईले पाँच घन्टा ७ मिनेट २६ सेकेन्डमा दौड पूरा गरी दोस्रो र सोलुखुम्बुकै दावाडोका शेर्पाले पाँच घन्टा ३७ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरी तेस्रो भएको हिमालय एक्पिडिसनका ‘एभरेस्ट म्याराथन’ का व्यवस्थापक शेखर पाण्डेले जानकारी दिए।

सगरमाथाको आधार शिविरबाट सुरु भएको म्याराथन गोरक्सेप, लोबुचे, थुक्ला, फेरिचे, दिङ्बोचे, पाङ्बोचे, तेङ्बोचे क्याङ्जुमा हुँदै नाम्चे बजारमा आएर टुङ्गिने गर्छ।

सगरमाथा आरोहणको ६४औं सगरमाथा दिवसका अवसरमा आयोजित एभरेस्ट म्याराथनको यस वर्ष १६ औं संस्करण हो। प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः रएक लाख, ७५ हजार, ५० हजार रुपैयाँ र प्रमाणपत्र वितरण गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell