
काठमाडौँ : सहमतीय सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ। सरकार गठनको विषयमा छलफलका लागि आह्वान बैठकको पत्रको भाषामा नै असहमति जनाउँदै एमाले बैठकमा अनुपस्थित भएको हो।
सभापतिले देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग अहिले संसद् भवनमा आफ्नो नेतृत्वमा सरकार गठनका विषयमा परामर्श गरिरहेका छन्।
राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनको आह्वान गरे पनि देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनको छलफलमा सहभागी हुन भन्दै संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई पत्र लेखेका थिए।
एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले पत्रमा खुला रुपमा छलफलको आह्वान नभई कांग्रेस सभापतिको नेतृत्वमा सरकार गठनको एजेण्डा भएकाले बैठकमा सहभागी नभएको बताए।
ढकालले भने ‘पत्रमा नै कांगेस नेतृत्वमा सरकार गठनको छलफल भन्ने व्यहोरा हामीलाई प्राप्त भएको छ। व्यक्ति नै तोकिसकेको अवस्थामा छलफलमा बस्नुको औचित्य नै छैन।’
एमाले बाहेकका अन्य दलहरुको बैठक भने संसद् भवन नयाँ बानेश्वरमा जारी छ।