
काठमाडौँः सहमतीय सरकार गठनका लागि नेपाली कांग्रेसले डाकेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएपछि अन्य दलहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग छुट्टै छलफल गर्न सुझाएका छन्।
संसद भवन नयाँबानेश्वरमा भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरुले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न सुझाएका हुन्।
बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेस सभापति शेरबहादुर देउवालई प्रतिपक्षसँग छलफल गर्न सुझाएको उल्लेख गरे।‘प्रतिपक्ष नहुँदा सोचे अनुसार छलफल भएन, मैले देउवाजीलाई प्रतिपक्षसँग छलफल गर्न भनेको छु, प्रचण्डले भने।’
बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले कांग्रेस नेतृत्वमै सरकार गठनका लागि राजीनामा दिएर बाटो छाडेको बताएका थिए। साथै उनले संविधान कार्यान्वयनका लागि दलहरु एक ठाउँमा आउनुपर्ने धारणा राखेका थिए।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पत्र काटेको भन्दै एमाले सर्वदलीय बैठकमा सहभागी भएन।
नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले भने आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पत्र काटेर बोलाउन नहुने धारणा राखेका थिए।
जवाफमा देउवाले संवैधानिक प्रावधान र संसदको ठूलो दलको हैसियतले बैठक राखिएको बताएका थिए। ‘कांग्रेसले डाक्दा कांग्रेसको नेतृत्व भन्न नपाउने’, भन्दै देउवाले श्रेष्ठको प्रतिवाद गरेका थिए।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले कांग्रेस सभापति शेरबहुदर देउवालाई एमाले अध्यक्ष केपी ओलीलाई घरमै गएर भेटेर भएपनि कुराकानी गर्न सुझाएको बताए।
‘संविधान संशोधनका लागि पनि सहमतिय सरका भए राम्रो हुन्छ, संशोधन सहितका समस्या फुक्छ,’ उनले भने।
कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पनि कांग्रेसको नेतृत्वमा सरकार गठनकै लागि डाकिएको उल्लेख गरे।‘दलहरुले एमालेसँग सल्लाह गर्नुस् भन्नु भएको छ, श्रेष्ठले भने ‘कांग्रेस नेतृत्व भनेको पार्टी सभापति र संसदीय दलको नेतृत्वमा सरकार गठन गर्ने भनेको हो।’
कांग्रेस सभापति देउवा भने सर्वदलीय बैठकमा सहमतीय सरकार गठनबारे ‘सल्लाह हुदैँछ’ भन्ने टिप्पणीसहित पन्छन खोजे।
यद्यपी गाडी चढ्दै गर्दा उनले सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए। भने –‘सके सहमतीय नभए बहुमतीय।’
राष्ट्रपति विद्यादेवी भण्डारीले एक साता भित्र सहमतीय सरकार गठनका लागि गत जेठ ११ गते आव्हान गरेकी थिइन्।