PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

काठमाडौँकी एक्ली महिला वडाध्यक्षको ओलीलाई जवाफ, 'कमरेड मैले जितेँ नि!'



आकाश क्षेत्री

काठमाडौँकी एक्ली महिला वडाध्यक्षको ओलीलाई जवाफ, 'कमरेड मैले जितेँ नि!'

काठमाडौँ : हँसिलो अनुहार।  उमेरले ५५ वटा वसन्त काटिसक्यो। तर, अनुहारमा देखिने चमक तन्नेरीको भन्दा कम छैन।

उनी हुन् काठमाडौं महानगरकी एकमात्र महिला वडा अध्यक्ष शोभा सापकोटा। कानुनले दिएको महिला सदस्य कोटा उनका लागि पर्याप्त भएन।पुरुषहरुलाई मात्र विश्वास गरेर टिकट दिइने पदमा उनले आफ्नो दावेदारी राखिन्। चुनौति दिइन् पुरुष सहकर्मीहरुलाई। र, आफ्नो पार्टी एमालेबाट प्रतिस्पर्धामा उत्रन अनुमति पाएरै छाडिन्। 


 
काठमाडौँ महानगरपालिका वडा नम्बर १४। कुलेश्वरदेखि कलंकी, रविभवन र बल्खुसम्म फैलिएको यो वडाका साढे १६ हजार मतदाताको मन जित्न सजिलो थिएन। सबै दल र स्वतन्त्र समेत गरी उनका सात प्रतिस्पर्धी सबै पुरुष थिए। तर कांग्रेसका महेन्द्र थापालाई ५१० मतको फराकिलो अन्तरले पराजित गर्दै उनले वडामा सूर्यको झण्डा गाडिन्। उनको नेतृत्वमा वडामा प्यानलै एमालेको विजयी भयो। 

विजयी भएको खबरले शोभाको मनमा खुसीसँगै भन्नेहरुलाई एउटा गतिलो जवाफ पनि बन्यो। पार्टी अध्यक्षलगायत पार्टीका अगुवा नेतालार्इ दिन तयार भएको त्यो जवाफ हो ‘कमरेड मैले जितेँ नि।’

उनले खुलाइनन् तर त्यो जवाफभित्र अविश्वासमाथि आत्मविश्वासले विजयको झण्डा गाडेको गर्व थियो।   

पार्टीबाट टिकट पाउनु सजिलो थिएन। टिकटका लागि उनकै वडामा पनि लामो समयदेखि पार्टीप्रति प्रतिवद्ध साथीहरु थिए। अन्तर्घातको खतरा उस्तै थियो। तर शोभाले निर्वाचन मात्र जितिनन् कीर्तिमान पनि कायम गरिन्।  लामो समयदेखि राजनीतिमा स्थापित पुरुष प्रतिस्पर्धीहरुलाई उछिन्दै उनी बनिन् काठमाडौं महानगरकी एकमात्र महिला वडा अध्यक्ष।

काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा वडा अध्यक्षका रुपमा चुनिने एक मात्र महिला हुनेछिन् उनी। नगर कार्यपालिकामा महिला नचुनिएला भनेर कानुनले विशेष व्यवस्था गरी वडामा चुनिने महिला सदस्यहरुमध्येबाट पाँच जनालाई कार्यपालिकामा निर्वाचित गर्ने व्यवस्था तयार गरिएको छ। तर शोभालाई कार्यपालिकामा पुग्न त्यो 'आरक्षण' चाहिएन।   

भन्छिन्,‘मलाई टिकट दिनुअघि पार्टीका अध्यक्ष कमरेड केपी ओली लगायतका ठूला नेताले मैले चुनाव जित्छु भन्नेमा शंका गर्नुभएको थियो। तर, पछि कमरेडले मेरो योगदानको कदर गर्दै विश्वासका साथ मलार्इ टिकट दिनुभयो।’ 
लगातारको विजय र्‍यालीका कारण उनले पार्टीका ठूला नेतालार्इ भेट्न पाएकी छैनन्। तर, उनलाई आफ्ना अध्यक्ष केपी ओली लगायतका आफ्ना अगुवाहरुलार्इ भेटेर तपार्इँले विश्वास गरेकोले मैले जितें भन्न मन लागिरहेको छ। 

शोभाका दुई सन्तान छन्। कान्छा छोरा श्रीमतीसँग अष्ट्रेलियामा बस्छन् भने जेठा छोरा अमेरिकी नागरिक भइसकेका छन्। कलंकीमा भएको घरमा शोभाका श्रीमान् र शोभा मात्र बस्छन्। श्रीमान सरकारी जागिरे हुन्।   

अष्ट्रेलियामा बसोबास गर्ने कान्छा छोरालाई शोभाको राजनीतिमा ल्याउने ठूलो धोको छ। भन्छिन्, ‘सानो छोरालाई राजनीति मन पर्छ, उसैले भनेको छ नेपाल आएर राजनीति गर्छु।’

कसरी काम गर्ने सोच बनाएकी छिन् त उनले?  

'सबैभन्दा पहिले काम गर्ने ठाउँ बनाउँछु।’

काठमाडौं महानगरको वडा नम्बर १४ मा वडा कार्यालय नै रहेनछ। अहिले भाडाको घरमा कार्यालय बसिरहेको छ। वडा कार्यालय बनेपछि वडाका मानिसहरुलाई कार्यालयमै भेटेर कामको बारेमा छलफल गर्न सहज हुने उनी बताउँछिन्। 

काठमाडौंको प्रवेश द्वार मानिने कलंकी उनकै वडामा पर्छ। 'कलंकीलाई सबैभन्दा कमजोर ठाउँको रुपमा मानिसहरुले लिएका छन्,' भन्छिन्, ‘ अब यसलाई सबल बनाउने जिम्मा मेरो काँधमा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell