PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थानान्तरण गरिएका तीन बाह्रसिङ्गेको मृत्यु



रासस

स्थानान्तरण गरिएका तीन बाह्रसिङ्गेको मृत्यु
फाइल फोटो

चितवन : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका बाह्रसिङ्गे बचाउन कठिन देखिएको छ।
 

चितवनमा स्थानतरण गरिएको सात बाह्रसिङ्गेमध्ये तीन वटा मरिसकेका छन्। अब चार वटा बाँकी बचेका छन्। बाह्रसिङ्गे हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार यही जेठको पहिलो साता थप एउटा बाह्रसिङ्गे मरेको छ।


किन मरे बाह्रसिङ्गे?

शुक्लाफाँटाबाट ल्याएलगत्तै दुई बाह्रसिङ्गे मरेका थिए। उनका अनुसार हाल तीन पोथी र एक भाले जीवित छन्। पाठकका अनुसार १६ घन्टा लामो यात्रामा बाटामा ल्याउँदा बाह्रसिङ्गेलाई खुट्टामा घोटिएर हिँड्न कठिन भएको थियो। लामो बाटाका कारण मानसिक र शारीरिक थकानसँगै खुट्टा घोटिएर हिँड्न नमिलेपछि बाह्रसिङ्गे मरेको पाठकले बताए।
 

अन्य चार बिस्तारै हिँडडुल र चरिचरन गर्न थालेकाले अब बचाउन सकिने अनुमान गरिएको छ। यही जेठ २ गते पछिल्लो पटक मरेको बाह्रसिङ्गे पनि हिँड्डुल गर्न कठिन भएर तारजाली वरपर नै बसिरहेको थियो।
 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार लामो यात्रा गराउँदा बाह्रसिङ्गे बचाउन कठिन भएको हो। पच्चिस वटासम्म बाह्रसिङ्गे ल्याउने योजना भए पनि सफल नहुने देखिएपछि ल्याउन रोकिएको छ। कँडेलले नयाँ तरिका अपनाएर मात्र ल्याउनुपर्ने देखिएको बताए।
 

फराकिलो र ठूलो खोर बनाएर बथान नै राखेर बिस्तारै ल्याउन सके मात्रै स्थानान्तरण सफल हुने देखिएको बताउँदै उनले यहाँको वातावरण तथा पानी, घाँस सबै सुविधा भए पनि लामो यात्राकै कारण सबै बाह्रसिङ्गे बचाउन नसकिएको बताए।
 

गत वैशाख १३ गतेदेखि बाह्रसिङ्गे स्थानान्तरणको काम सुरु गरिए पनि सफल नदेखिएपछि सात वटा ल्याइएपछि काम रोकिएको थियो। बाह्रसिङ्गेलाई निकुञ्जभित्रको पदमपुरमा अर्ना राख्न बनाइएको तारबार (इन्क्लोजर) भित्र राखिएको छ। सो ठाउँमा १५ अर्ना पनि छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell