काठमाडौँः सरकारले जेठ ३१ बाट सारेर असार ९ गतेका लागि पुर्याएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति पुनः सार्ने तयारी गरेको छ।
मुस्लिमहरुको पर्व रमजान परेको कारण पुनः मिति सार्ने विषयमा दलहरुबीच छलफल सुरु भएको हो। एक महिनासम्म व्रत बसेर मनाईने रमजान अन्तर्गत ९ गते चौथो शुक्रबार पर्दछ। मुस्लिमहरुले शुक्रबार प्रार्थना गर्ने गर्दछन्।
रमजान १२ गते सकिंदैछ भने १३ गते इद छ। तराईमा झण्डै ११ लाख मुस्लिम जनसंख्या छ। मुस्लिम धर्मसँग सम्बन्धित संघ तथा संगठनहरुले मिति सार्न सरकारलाई आग्रह गर्दै आएका छन्।
१३ गते इद भएकाले १४ गते मिति सार्ने कसरत दलहरुले गरेका हुन्। मंगलबार बानेश्वरमा भएको सर्वदलीय बैठकमा पनि मिति १४ गते सार्ने विषयमा उठेको संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले बताए।
बैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने मिति ९ गतेबाट सारेर ८ गते ल्याउनु उचित हुने बताएका थिए।
दलहरुबीच निर्वाचनको मिति ८, ११ र १८ गते सार्ने विषमया छलफल सुरु भएको हो।
सरकारले सोमबार मात्र निर्वाचनको मिति जेठ ३१ बाट असार ९ मा सार्ने निर्णय गरेको थियो। राष्ट्रिय जनता पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि उसका केही माग सम्बोधन गर्न भन्दै सरकारले मिति सारेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि असार ९ गते 'जुमा अल बिदा'को दिनमा निर्वाचन गर्न मिति घोषणा गरेकोमा विरोध गरेको छ। एमालेले मिति असार ९ रोजिएकोमा विरोध गर्दै संवेदनशिलता देखाउन माग गरेको छ।