
काठमाडौं : वर्षाले दोस्रो इनिङ्सको खेल अबरुद्ध पारेपछि पिएम कप क्रिकेटअन्तर्गत मंगलबार मध्यमाञ्चल र मध्यपश्चिमले १-१ अंक बाँडेका छन्।
मध्यपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउँदै मध्यमाञ्चलले ब्याटिङ गरिरहेको बेला पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि खेल सुरु हुन सकेन र दुवै टोलीले अंब बाँडे।
पानी पर्नुअघि जवाफी ब्याटिङ गरेको मध्यमाञ्चलले ४.२ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो। उसका भुपेन्द्र थापा १० तथा सोनु तामाङ ११ रनमा नटआउट थिए।
त्यसअघि किर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले ४३.२ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो।
मध्यपश्चिमका लागि राजविर सिहले सर्वाधिक ६३ रन बनाए। यस्तै प्रनित थापा मगरले २० तथा अमरसिह राउटेलाले १० रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।
मध्यपश्चिमलाई अलआउट गर्न मध्यमाञ्चलका किशोर महतोले ४ तथा हरीशंकर शाहले २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत बुधबार समूह ए का मध्यमाञ्चल र पश्चिमाञ्चल बीच खेल हुनेछ। यस समूहमा एपीएफ २ अंका साथ शीर्ष स्थानमा छ।