
काठमाडौं : नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारु नगरिए संसदमा अवरोध गर्ने चेतावनी दिएको छ।
एमाले संसदीय दलको बैठकले भरतपुरमा षड्यन्त्रपूर्ण ढंगले मतपत्र च्यातिएको जनाउँदै मतगणना सुचारु नगरिए सडक र सदनमा आन्दोलन गर्ने निर्णय गरेको हो।
संसदीय दलको बानेश्वरमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा मतगणना गराउन एमालेले सडक र सदनमा डटेर सामना गर्ने बताए।
ओलीले सांसदहरुलाई भने – ‘भरतपुर एकपटकको जीत हारको विषय होइन। लोकतन्त्रमाथि नै प्रश्न उठेको छ। यसमा चुप लागेर बस्न हुन्न। डटेर सामना गर्नुपर्छ। जुनसुकै बेला जेसुकै निर्देशन आउन सक्छ। त्यसका लागि तयार रहनुस्।‘
उनले भरतपुरको मतगणना रोकिनु एमालेका लागि दाँतमा ढुङ्गो लागेको जस्तो भएको टिप्पणी गरे। ‘सडकमा भने सडकमा, सदनमा भने सदनमा आन्दोलनमा उत्रन तयार हुनुस्। लोकतन्त्रको रक्षाका लागि एमाले चुप बस्दैन। परिस्थिति झन् जटिल बनेको छ। पहिलो चरणको निर्वाचनको अन्तिममा एमालेका लागि दाँतमा ढुङ्गा लागेको छ।‘
आइतबार बेलुका भरतपुर महानगरपालिकाको मतगणना स्थलमा एकाएक मतपत्र च्यातेपछि मत गणना रोकिएको छ। एमालेले माओवादी केन्द्रका मतगणनामा खटिएका प्रतिनिधिले मतपत्र च्यातेको आरोप लगाएको छ। माओवादी केन्द्रले भने एमालेका प्रतिनिधिले मतपत्र च्यात्न लागेपछि सुरक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको भन्दै घुमाउरो पारामा स्वीकारेको छ।
भरतपुरमा एमालेका उम्मेद्वार देवी ज्ञवाली मतगणनामा झण्डै सात सय मतले अगाडि थिए। माओवादी र कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल मेयर पदमा प्रतिस्पर्धी छिन्। कांग्रेस र माओवादी केन्द्रले मतगणना स्थगित भएकाले पुन वडा नं १९ मा मतदानको माग गर्दै आएका छन्।
तर, मतदानको विरोधमा रहेका एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनेदेखि भरतपुरमा धर्ना समेत सुरु गरिसकेको छ।
चुनावका लागि जहिले पनि तयार
संसदीय दलको बैठकमा एमाले अध्यक्ष ओलीले दोश्रो चरणको निर्वाचनका लागि एमाले जुनसुकै समय तयार रहेको बताए।उनले पहिलो चरणको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरे। ‘अहिले र आउँदो सरकार उस्तै हो। परिस्थिति जटिल बन्दै छ। मानसिक रुपमा तयार रहनुहोस्,’ ओलीले भने।