काठमाडौं : यस वर्षकै प्रतिक्षित फिल्म 'ए मेरो हजुर-२' को दोस्रो गीत सार्वजनिक भएको छ। 'किनीदेउ न साँइला दाई' बोलको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी लक्ष्मी शाहले नेपाली मौलिक पहिरनमा प्रस्तुत भएकी छन्।
मारुनी फ्लेवरमा निर्माण भएको गीतमा साम्राज्ञीलाई नेपाली पहिरनमा निकै सुहाएको देख्न सकिन्छ। यसअघी सार्वजनिक भएको गीतबाट साम्राज्ञीले राम्रै तारिफ पाइन्। यस गीतबाट पनि उनले प्रशंसा पाउन थालिसकेकी छिन्।
बसन्त सापकोटाको शब्द/संगीतमा तयार भएको गीतमा साधना सरगमको स्वर समावेश छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन्।
'ए मेरो हजुर २' मा साम्राज्ञीसंगै नवकलाकार सलिनमान बानियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।
सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिलकुमार थापा प्रोडक्सनबाट निर्माण भएको फिल्मलाई अभिनेत्री झरना थापाले पहिलो पटक निर्देशन गरेकी हुन्। सुनिलकुमार थापाको निर्मणमा बनेको फिल्म भदौ १६ मा सार्वजनिक हुदैछ।