- समाचार टिप्पणी -
२०६३ ले ल्याएको तुफानी परिवर्तनका एक अगुवा तिनी संघीय गणतन्त्र नेपाललाई संस्थागत गर्ने दोस्रो तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने दोसाँधमा छन्। जीवनभर लोकतन्त्रका लागि गरेको अनवरत कुर्वानीको मनले भन्दो हो छिटो गर, चुनावमा भाग लेऊ। तर फेरि वर्तमानको राजनीतिक दाउपेचका घट्नाक्रमहरुले रोक्दै होलान् उनका पाइलाहरु। र, त घरी बालुवाटार, घरी सानेपामा सोझिने उनका पाइलाहरु सरकार वा अन्य दलहरुसँगका बैठकमा जाँदा एक मन र फर्कँदा दोमन भएर बाटैमा कतै बरालिएका छन्।
हो,होचो कदका अग्ला राजनीतिज्ञ महन्थ ठाकुरको अग्रगामी राजनीतिक यात्राको छलाङका लागि यक्ष प्रश्न हो स्थानीय तहको दोस्रो चरणको चुनावी सहभागिता। ठाकुरसहितका नेताहरुको नयाँ दल राजपाले भाग लिए मात्रै सम्भव छ २० वर्षपछि हुँदै गरेको स्थानीय चुनावको सर्वपक्षीय सहभागिता र सफलता।
राजपा बाहेकका दलहरु लगभग स्थानीय चुनावको महासंग्राममा होमिइसकेका छन्। केही राजनीतिक जटिलता छन्,केही प्राविधिक अप्ठयारा पनि छन्। तर जति नै जटिलता भए पनि चुनाव बहिष्कार नै गर्नुपर्ने कारण चाहिँ सीमित र धेरै कम छन्। त्यसैले ती शालिन व्यक्तित्व, भद्र नेतृत्वका नेता ठाकुरका लागि यो चुनाव नखाउँ दिनभरको शिकार, खाउँ खै के खै केको अनुहार भन्ने उखान जस्तै हुन पुगेको छ।
परिवर्तित समयको झोँकासँगै नेताहरुले राजनीतिक हुरीको लहर र लहडमा लिने राजनीतिक निर्णयहरु सँधै सही र सफल नहुन पनि सक्छन्। कम बोल्ने गम्भीर स्वभावका ती नेता ठाकुरका हकमा अहिले त्यस्तै भैरहेको छ। २०६४ पुस ९ गते जीवनभरका आँसु, खुसी, संघर्ष र बलिदानले सिंचेको चारतारे नेपाली कांग्रेससँग उनले लिएको राजनीतिक पारपाचुके जोडियो, बुनियो तराई मधेश लोकतान्त्रिक पार्टीको व्यानरमुनि। त्यो बेला भर्खर मधेश आन्दोलन पनि भर्भराउँदो भएको मौकामा उनले चौका हानेर खोले नयाँ दल तमलोपा।
तमलोपामा उनलाई साथ रहयो ह्दयेश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ल, रेणु यादव आदि आदिको। लहरै मधेशवादको चलेका बेला उनले सुरु गरेको नयाँ राजनीतिक यात्राले उनको राजनीतिक संर्घषको बाटो मात्रै बदलेको थिएन, चुनौतिहरु पनि थपेको थियो। त्यो चुनौतिका बीच उनले दोस्रो संविधान सभा निर्वाचनको सामना गरेका थिए। तर कांग्रेस जस्तो पुरानो र ठूलो पार्टीलाई बाई बाई गरेर उनले सुरु गरेको तमलोपाको राजनीतिक दलले जनताको हाइहाइ पाउन सकेन अपेक्षाकृत रुपमा। कांग्रेसको विकल्प शक्तिका रुपमा जनताका मतपत्रद्वारा स्वीकृत र स्थापित हुन सकेन तमलोपा।
संविधानसभाको चुनावले केन्द्रीय राजनीतिमा हस्तक्षेप नै गर्ने हैसियत स्थापित नभए पनि उनले अन्य मधेशवादी दलहरुलाई आफू वरपर गोलबन्द गरेरै पनि आफूलाई मधेश आन्दोलनको मियो पात्र बनाउन भने सफलता पाए।
पछिल्लो पटक संघीय गठबन्धनको संयोजकको जिम्मेवारी वा नवगठित राजपाको अध्यक्ष मण्डलको संस्थापक अध्यक्षका उनका वर्तमान पदीय हैसियतहरु उनका सर्वस्वीकार्य नेतृत्व क्षमताका उपज हुन्। सरकार, सत्तारुढ दल वा अन्य कुनै पनि पक्षले मधेशी दलसँगको राजनीतिक संवादमा पहिले सम्झने र हर प्रायः बैठकहरुमा नछुटाउने शीर्ष मधेश नेता पनि उनै ठाकुर नै हुन्।
मधेशी दलहरु भित्रैका धेरै पाका र विश्वासिला, विपक्षी वा प्रतिष्पर्धीका लागि पनि उतिकै महत्वपूर्ण र भरपर्दा उनै नेता महन्थ स्थानीय तह चुनावमा होमिन आखिर डराइरहेछन् किन? उनलाई नेता मानेका उपेन्द्र यादवले समेत सम्पूर्ण दलीय बल चुनावमा लगाई सके। सिद्धान्ततः हामी चुनाव विरोधी होइनौं भनेर राजपा आवद्ध नेतारु राजेन्द्र महतो, अनिल झा, महेन्द्र राय यादव, शरतसिंह भण्डारी र राजकिशोर यादवहरुले भनिसक्दा पनि उनै ठाकुर लौ अब हामी पनि हुइकियौं चुनावमा भन्न हिच्किचाइ, धर्मराइरहेको छ। त्यत्रो आन्दोलन र जनधनको क्षतिपछि जनतासामु के भनेर जाने, एउटा सेफ ल्यान्डिङको बाटोमात्रै दिइदिए यो हिच्किचाहट हुने थिएन होला।
नेपाली कांग्रेस कस्तो दल हो र उसका निर्णयहरु कसरी हुने गर्छन्, त्यो कुराको भित्री चुरो कुराको भेउ पाउन अरुलाई भन्दा ज्यादा महन्थलाई नै सजिलो छ। उनले जति राजनीतिक सरसंगत र संघर्ष गरेका छन त्यो, कांग्रेसी भएर गरेका छन्। कांग्रेसको पनि संस्थापन भएरै गरेथे। अहिले सत्तारोहण गर्दै गरेका संसदको सबैभन्दा ठूलो दलका सभापति शेरबहादुर देउवासँग कसरी मिल्न सकिन्छ वा सकिन्न भन्ने तथ्यको वस्तुनिष्ठ खोजीमा अरु भन्दा बढी जानकार उनै महन्थ हुन्। देउवा र ठाकुरले कम्मर कसेर आँट र साहसका साथ नयाँ परिस्थितिमा नयाँ जोखिम मोल्ने निर्णय गर्न चाहे कुरा मिल्न असंभव विषय कमै छन्।
इमान जमानका सँधै पक्का र राजनीतिक दायित्वमा सँधै समस्याका बदला समाधान बन्ने ठाकुरको राजनीतिक करिअरको विशेषता हो। अब उनले यो वा त्यो बहानामा चुनावमा भाग नलिने होइन, चुनावमा भाग लिएर चुनावलाई नै अर्को शशक्त आन्दोलनको स्वरुपमा बदल्नुपर्ने चुनौति छ। उनको हाई प्रोफाइलले पनि उनलाई चुनावको बाटो बदलेर आन्दोलनको बाटोमा जान दिँदैन। उनको लोकतान्त्रिक निष्ठा र विश्वास पनि जनताको मतको सम्मान गर्ने मौकाबाट दायाँबायाँ हुन सक्दैन।
महन्थले कांग्रेस नछोडेको भए तमलोपाको जन्म, संघर्ष र यो हालत हुन्थ्यो वा हुँदैन्थ्यो त्यो अनुमानको फरक विषय हो। तर भन्नेहरु त भन्छन् नै, महन्थले कांग्रेस नछोडेको भए उनी उहिल्यै डा. रामवरण यादवको स्थानमा गणतन्त्र नेपालका पहिलो राष्ट्रपति नै बनिसक्थे। छोडिसकेको बाटो नछोडी हिँडेको भए के हुन्थ्यो वा हुन्नथ्यो भन्ने त अब फगत कल्पना मात्रै हो। तर अब साँच्चै जनतालाई नै न्यायाधीश मान्ने लोकतान्त्रिक बाटो स्थानीय तहको दोस्रो चुनावमा जाने हो भने महन्थको दल, राजनीति र देशकै लोकतन्त्रले जित्ने कुरामा कसैको दुई मत नहोला। नामले जस्तै जारी मधेशको असन्तोष, आक्रोश र रिस वा चाहनालाई चुनावी सहभागिताका साथ जनताबाट अनुमोदित गराउन सकेमा भने पक्का छ महन्थ नाम जस्तै राजनीतिक महन्थका रुपमा स्थापित हुने छन्।
निहुँ खोजेर चुनावी समरबाट भाग्ने वा दायाँ बायाँ हुने हुने की चुनावमा भाग लिएर सबैलाई पर्छार्दै पहिलो हुने, छनौट उनै बेदाग छविका शान्त नेता महन्थको विवेकमा निर्भर छ।