
काठमाडौँ: सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज सकिँदैछ। सरकार गठनको समयसीमा सकिए पनि प्रमुख राजनीतिक दलहरु सरकार गठनका विषयमा छलफल गर्न एक ठाउँमा बस्न सकेका छैनन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक आह्वान गरे पनि पत्रको भाषामा नै असन्तुष्टि जनाउँदै प्रतिपक्ष दल एमाले बैठकमा सहभागी भएन। एक साताको समयमा प्रमुख दल सहमतीय सरकार गठनको छलफलमा प्रवेश गर्न सकेका छैनन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १० गते राजीनामा दिएपछि राष्ट्रपतिले भोलिपल्टै सहमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
सहमतिबाट सरकार गठनको प्रक्रिया अघि बढ्न नसके राष्ट्रपतिले संविधानको धारा २९८(३) अनुसार बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि संसद्लाई पत्राचार गर्ने व्यवस्था छ। राष्ट्रपतिको पत्रपछि संसद्ले प्रधानमन्त्री चयनको कार्यतालिका प्रकाशन गर्नेछ।
सर्वदलीय बैठक आह्वान
यसैबीच सरकार गठनका लागि दिएको समयसीमाको अन्तिम दिन राष्ट्रपति भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने सवै दललाई छलफलका लागि बोलाएकी छन्। शितलनिवासमा बिहान ९:३० बजे दलहरुलाई छलफलका लागि बोलाएकी हुन्।
दलहरुबीचमा सहमतीय सरकार गठनको सम्भावना रहे/नरहेको धारणा बुझेर राष्ट्रपतिले थप प्रक्रिया निर्धारण गर्नेछिन्। प्रमुख दलहरु सहमतीय सरकार गठनकै पक्षमा देखिए सहमतीय सरकार गठनको समय थप हुनेछ। दलहरुबीचमा एकमत नभए बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्राचार हुनेछ।