काठमाडौं : माओवादी केन्द्रको संसदीय दल बैठकले वर्तमान सरकारको कार्यकालको समीक्षा गर्दै प्रचण्ड सफल प्रधानमन्त्री भएको निष्कर्ष निकालेको छ।
पहिलो चरणको निर्वाचन गरी संविधानको सफल कार्यान्वयन, मधेश समस्याको समाधानका लागि गरेको प्रयासको सफलता स्वरुप राष्ट्रिय मधेश समाजवादी पार्टी समेत दोस्रो चरणको चुनावमा सहभागी भएको, लोडसेडिङको समस्या समाधानमा सफल भएको तथा गठबन्धनलाई कुशलतापूर्वक हाँक्न सफल भएको भन्दै संसदीय दल बैठकले प्रधानमन्त्री सफल भएको निष्कर्ष निकालेको हो।
माओवादी सांसद रामनारायण विडारीले बैठकमा सरकारको समीक्षा, समसामयिक राजनीतिक विषयमा छलफल तथा दोस्रो चरणको चुनावका विषयमा छलफल भएको बताए। 'दोस्रो चरणको निर्वाचन असार १४ गते भन्दा पछाडि सार्न नहुने र कात्तिक मंसिर भित्र केन्द्र र प्रदेशको निर्वाचन हुनुपर्नेमा माओवादी केन्द्रको जोड रहेको छ,' सांसद विडारीले भने, 'सरकारको सन्दर्भमा प्रचण्ड सरकारले लिएका लक्ष्य र बिदा हुँदासम्म गरेका कामका आधारमा प्रचण्ड सफल प्रधानमन्त्रीको रुपमा स्थापित भएको निष्कर्ष बैठकले निकालेको छ।'
उनले आर्थिक बर्ष २०७४/७५ को बजेटको विषयमा पनि छलफल भएको भन्दै त्यसको सफल कार्यान्वयन अबको सरकारले गर्ने बताए।
'अब नेपाली कांग्रेसको नेतृत्वमा अहिलेको सरकारमा भन्दा बढी दलहरुको सहभागी हुने र नेपाली कांग्रेसको प्रमुख सहयात्री नेकपा माओवादी केन्द्र नै हुनेछ,' बिडारीले भने, 'साथै दोस्रो चरणको निर्वाचनमा राजपा नेपाल पनि आउने निश्चित भएकाले प्रचण्ड प्रधानमन्त्री पूर्णरुपमा सफल भएको बैठकले निष्कर्ष निकालेको छ।'
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री कृष्ण बहादुर महरा तथा नेताहरु टोप बहादुर रायमाझीसहित करिब ४५ जना मात्र उपस्थित थिए।