.jpg)
काठमाडौं : भरतपुर महानगरपालिकाको रोकिएको मत गणना सुरु गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ।
यसअघि प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्तावलाई इस्यु बनाउँदै सरकारको नीति तथा कार्यक्रमअघि र पछिसमेत अवरोध गरेको नेकपा एमालेले निर्वाचन आयोगसँगको असन्तुष्टि संसद अवरोध गरेर पोखेको हो।
भरतपुरमा मतपत्र च्यातिएका कारण स्थगित भएको मत गणना तत्काल सुरु गर्नुपर्ने भन्दै एमालेले अवरोध गरेपछि सभामुख ओनसरी घर्तीले बैठक भोलि दिउँसो एक बजेसम्म लागि स्थगित गरिन्।
'च्यातिएको मतपत्रलाई जोडेर हेर्ने व्यवस्था नियम कानुनमा छ,' संसद्मा एमाले नेता सुरेन्द्र पाण्डेले भने, 'नतिजा प्रभावित पार्न त्यहाँ घटना घटाइयो।'
उनले तुरुन्त मत गणना सुरु गर्न माग गर्दै त्यसो नगरे आफै जीतको घोषणा गरेर जाने धम्की दिए। 'तत्काल मतगणना कार्य सुरु गरियोस्,' पाण्डेले भने, 'अन्यथा निर्णय भए स्वयम् विजयी भएको घोषणा गरेर जान बाध्य हुने छौं।'
पाण्डेले भरतपुमा जस्तै घटनालाई आधारित बनाएर पुन मतदान गर्दै जाने हो भने निर्वाचन आयोगले स्थानीय तहको कार्यकालभर चुनाव नै गरिरहनुपर्ने बताए।
'अब यसैगरी घटना घटाउने र मतदान गर्दै जाने हो भने निर्वाचन आयोगले पाँच वर्षसम्म मतदान गराइरहनुपर्ने हुन्छ,' उनले भने।
उनले भरतपुरको मतगणना सुरु नगरेसम्म संसद बैठक चल्न नसक्ने बताए।