1.jpg)
काठमाडौं : भरतपुर महानगरपालिकाको मत गणनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् सुरेन्द्र पाण्डेले संसदमा झुटो अभिव्यक्ति दिएका छन्।
'हाम्रो मत गणनाको कार्यविधि र नियमावलीले त्यस्ता मतपत्र तुरुन्त गन्न सकिने व्यवस्था गरेको छ। र, च्यातिएका मतपत्र जोडेर हेर्ने व्यवस्था गरेको छ,' अवरुद्ध गर्नुअघि संसदलाई सम्बोधन गर्दै पाण्डेले भने, 'निर्वाचन आयोगले त्यो कुरा निर्देशन गरेर पठाएको छ।'
के निर्वाचन आयोगले च्यातिएका मत जोड्न निर्देशन दियो?
संसदलाई सम्बोधन गर्दै निर्वाचन आयोगले च्यातिएका मतपत्र जोडेर गन्न निर्देशन दिएको पाण्डेले बताएका थिए। तर, आयोगले भने त्यसलाई ठाडै अस्वीकार गरेको छ। निर्वाचन आयोगले सांसद पाण्डेले भनेजस्तो कुनै निर्देशन नदिएको प्रस्ट्यायो।'भरतपुरको मत गणना रोकिएको विषयमा छानविनका लागि निर्वाचन आयोगले सह न्यायाधीवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वको तीन सदस्य समिति गठन गरेको छ,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'त्यसबाहेक अन्य कुनै निर्णय वा निर्देशन गएको छैन।'
आयोगले छानविन समिति गठन गरेकाले त्यसको प्रतिवेदन कुर्नेबाहेक अर्को निर्णय नलिएको उनले प्रस्ट्याए।
निर्वाचन आयोगले सह न्यायाधीवक्ता तिमल्सिनाको संयोजक र सहसचिव महेश आचार्य तथा नेपाल प्रहरीका डिआइजी किरणमान सिंह रहेको समिति गठन गरेको छ। समितिले आजै प्रतिवेदन बुझाउने छ।
भरतपुर महानगरपालिका १९ नम्बर वडाको मतपत्र च्यातिएपछि स्थगित मत गणना सुरु गराउन आजको संसद् बैठक प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको हो। अवरोधको कारण खुलाउन एमाले सांसद पाण्डेले बोल्नका लागि समय मागेका थिए।