PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

पिएम कप क्रिकेट : शौरभ र बलरले जितायो पश्चिमाञ्चललाई, मध्यमाञ्चल ९५ रनले पराजित



पहिलोपोस्ट

पिएम कप क्रिकेट : शौरभ र बलरले जितायो पश्चिमाञ्चललाई, मध्यमाञ्चल ९५ रनले पराजित
म्यान अफ दी म्याच पश्चिमाञ्चलका शौरभ खनाल

काठमाडौं : शौरभ खनालको आक्रामक ब्याटिङ तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पश्चिमाञ्चलले पिएम कप क्रिकेटमा बुधबार मध्यमाञ्चललाई ९५ रनले पराजित गरेको छ।

२०३ रनको लक्ष्य पछ्याएको शरद भेषावकरको टिम मध्यमाञ्चल ४०.३ ओभरमा १०७ रनमै अलआउट भयो।

जितपछि समूह ए मा पश्चिमाञ्चलले २ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। पश्चिमाञ्चल पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो।

यता वर्षाका कारण मध्यपश्चिमसँग अंक बाँडेको मध्यमाञ्चललाई भने हारपछि सेमिफाइनल यात्रा कठिन बनेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा मध्यमाञ्चल टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले शौरभको ७८ रनको मद्दतमा पूरै ५० ओभर खेल्दै २०२ रन बनाएको थियो। ५८ बल खेलेका शौरभले ३ चौका र ६ छक्का प्रहार गरे।

८७ रन हुँदा ५ विकेट गुमाएको पश्चिमाञ्चलको इनिङ्स उकास्न शौरभले छैटौँ विकेटका लागि कप्तान अन्तिम थापासँग ५२ तथा सातौ विकेटका लागि कृष्ण कार्कीसँग ५१ रनको साझेदारी गरे। अन्तिम थापाले शरदको बलमा बोल्ड हुनुअघि ७१ बल खेलेर ३४ रन बनाए। त्यसअघि पश्चिमाञ्चलका लागि अनिल गुरुङले २८ तथा विधान श्रेष्डले १८ रनको योगदान गरे।

बलिङमा मध्यामाञ्चलका किशोर महतोले ३ तथा नन्दन कुमार यादवले २ विकेट लिए। जारी प्रतियोगितामा कुनै पद्दि टिमले पूरै ५० ओभर खेलेको यो पहिलो इनिङ्स हो।

बिलङमा पनि पश्चिमाञ्चलका बलरहरुले कसिलो बलिङ गरेपछि मध्यमाञ्चल पूरै ओभर क्रिजमा टिक्न सकेन र ४०.३ ओभरमा १०७ रन मात्र बनाउन सक्यो। मध्यमाञ्चलका लागि ओपनर इशान पाण्डेले सर्वाधिक २४ रन बनाए भने संसद आलम १०, सुमित महर्जन १० रन बनाएर आउट भए। किशोर महतो २० रनमा नटआउट रहे। बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

मध्यमाञ्चललाई अलआउट गर्न पश्चिमाञ्चलका लाल अधिकारी र रोहित कुमार पोडेलले ३-३ विकेट लिए। १० ओभर बलिङ गरेका लालले ३ मेडन राख्दै २१ रन खर्चे भने रोहितले ४.३ ओभर बलिङ गर्दा १ मेडन राखेर १० रन मात्र दिए।

यस्तै बिपिन खत्रीले १० ओभर बलिङ गर्दै ३ मेडन राखेर २२ रन दिदै २ विकेट लिए। ब्याटिङमा जमेका शौरभले १ ओभर बलिङ गर्दै २ रन मात्र दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell