PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

प्रम प्रचण्डले हाले उखान :  अरुले पिठो बेचे, हामी चामल पनि बेच्न नसक्ने?



पहिलोपोस्ट

प्रम प्रचण्डले हाले उखान :  अरुले पिठो बेचे, हामी चामल पनि बेच्न नसक्ने?

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अरुले पिठो बेचेर राजनीति गरे पनि माओवादी केन्द्रले चामल समेत बेच्न नसकेको बताएका छन्।
 
बुधवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले माओवादी सरकारले गरेका कामहरुको प्रचार गर्न र जस लिन नसक्दा 'कामै नगर्नेहरुले चर्चा बटुलिरहेको' बताए। 

‘माओवादी नेतृत्वको सरकारले दुरगामी महत्त्व राख्ने र इतिहासमा मानक सिद्ध हुने काम गरेको छ,' प्रचण्डले भने, 'यही अवधिमा आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको छ।'

प्रचण्डले मूल्यवृद्धि नियन्त्रण सहित धेरै काम गरेको फेहरिस्ता समेत बैठकमा प्रस्तुत गरे। 

'लोडसेडिङको अन्त्य भयो, उज्यालो युगको सुरुवात भयो, वर्षौदेखि रोकिएको १ हजार ४ सय किमीको हुलाकी राजमार्ग हाम्रै पालामा बन्दैछ। हाम्रै पालामा महाकालीमा पुल बन्दैछ,' प्रचण्डले भने, '१४ वटा ठूला सडकहरु हाम्रै पालामा बन्दैछन्, फास्ट ट्रयाक शिलन्यास गरेर काम अघि बढी नै सक्यो, बुढीगण्डकी जलासययुक्त आयोजना सुरु हुँदैछ।'

उनले इतिहासमै पहिलोपटक संघीयताको प्रयोगमार्फत् सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको र २० वर्षदेखि रोकिएको स्थानीय निर्वाचन सम्पन्न गरिएको बताए। 

'यति ठूला र इतिहासमै मानक बन्ने काम गरेर पनि हामीले जस लिन सकेका छैनौं। अरुले गफै गरेर चर्चा बटुले, हामीले कामको जस लिन जानेनौं। तपाईँ सांसदहरु गाउँ–गाउँ पुगेर माओवादी नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्नुस्, जनतालाई बुझाउनुस्,' प्रचण्डले भने, ' अरुले पिठो बेचे, हामी कम्तिमा चामल त बेचौं।’

निर्वाचनलाई सामान्य अर्थमा नलिन सांसदहरुलाई प्रचण्डले आग्रह गरे। 

‘निर्वाचन प्राविधिक विषय मात्र होइन, यसको ठूलो राजनीतिक महत्त्व छ। यसभित्र राष्ट्रिय एकता एवं स्वाभिमानको रक्षा गर्ने र हिमाल, पहाड र तराई–मधेशको एकता सुदृढ गर्ने आकांक्षा लुकेको छ,' उनले भने,  'हामी एकै चरणमा निर्वाचन चाहन्थ्यौं। तर, त्यसो गरेको भए निर्वाचन नै नहुने खतरा थियो। सिंगो देशलाई नै निर्वाचनमा लैजाने कुराको ठूलो महत्व छ।'

उनले मुस्लिम समुदायको रमजान पर्वलाई ख्याल गरेर ९ असारबाट १४ गतेका लागि सार्ने निर्णय गरिएको बताउँदै अब राजपा पनि चुनावमा सहभागी हुने दावी गरे।
  
'यसमा एमालेका साथीहरुको पनि आलोचनात्मक समर्थन छ। असार १४ को निर्वाचन फेरि सर्दैन, मौसमविदहरुसँग पनि राय लिएका कारण मौसमले निर्वाचन प्रभावित हुँदैन भन्ने विश्वास छ,’ प्रचण्डले भने।

प्रचण्डले सहमतीय सरकारका लागि छलफल जारी रहे पनि त्यसको सम्भावना कमजोर रहेको बताए। ‘राष्ट्रिय सहमतिको सरकारका लागि छलफल त जारी छ तर सहमतीय सरकार तत्काल बनिहाल्ने देखिँदैन,' उनले भने, 'सरकार जस्तो बने पनि कांग्रेसकै नेतृत्वमा बन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell