PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

भरतपुरको मतगणना र मतदानमा हैन, च्यातिएको मतपत्रमा निर्वाचन आयोगको चासो



रमेश वाग्ले

भरतपुरको मतगणना र मतदानमा हैन, च्यातिएको मतपत्रमा निर्वाचन आयोगको चासो

काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्ने कि मतपत्र च्यातिएको वडा नं १९ मा पुन: मतदान गर्ने भन्ने विवादमा निर्णयमा पुग्नबाट निर्वाचन आयोग अल्मलिएको छ।

आयोगले निर्णयमा पुग्नु अघि च्यातिएको मतपत्रको संख्या माग्दै बीचको बाटो राजेको हो।
 
मतगणनास्थल खोल्न र यथार्थ अवस्था जानकारी गराउन भन्दै निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो। 
निर्वाचन आयोगको करिब दिनभर बसेको बैठक मतगणना कि पुन: मतदान भन्ने निष्कर्षमा पुग्न सकेन। 

'पहिला त कति मतपत्र क्षति भएको छ त्यसको रेकर्ड एकिन गर्नुपर्यो,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'क्षतिको अवस्था र त्यसको विवरणका आधारमा निर्णय गर्ने हो।' 

आयोगको दिनभरको बैठकबाट आएको निर्णयसँगै भरतपुरमा रोकिएको मतगणता हुने हो वा मतदान भन्ने अन्यौल बढेको छ। 

निर्वाचन आयोगले भरतपुरका प्रमुख निर्वाचन अधिकृत र केन्द्रबाट पठाएको छानविन समितिको प्रतिवेदन दुवैमा केही मत पत्र च्यातिएको भन्ने मात्र उल्लेख रहेको जनाएको छ। 

आयोगले मतगणना रोकिएपछि त्यहाँको अवस्थाबारे बुझ्न छानविन समिति बनाएको थियो। गीताप्रसाद तिमल्सिना नेतृत्वको छानविन समितिले प्रतिवेदनमा कुनै सुझाव नदिएको प्रवक्ता शर्माले बताए। 

निर्वाचन आयोगले भरतपुरको गणनामा सहभागी रहेका राजनीतिक दल, उम्मेदवार तथा प्रमुख जिल्ला अधिकारीसहितको रोहबरमा मतगणना स्थलको सिल खोलेर क्षति भएको मतको विवरण पठाउन निर्देशन दिएको हो। 

'के कति संख्यामा मतपत्र च्यातिएको भन्ने यकिन उल्लेख नभएको र गणना भएका तथा गणनाको क्रममा रहेका मतपत्रहरु जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै एकै पोको पारी शिलबन्दी गरी राखिएको भन्ने उल्लेख भई आएको देखिँदा उक्त शिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्था सहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एक एक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने निर्वाचन आयोगको निर्देशनमा भनिएको छ।

'मिति २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका, चितवनको निर्वाचनको मतगणनाको क्रममा मतपत्र च्यातिएको घटनाको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवनको मिति २०७४।२।१५ को प्रतिवेदन तथा यस आयोगबाट खटिएको अनुगमन टोलीको मिति २०७४।२।१७ को प्रतिवेदन समेतको आधारमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएको छ', आयोगको विज्ञप्तिमा भनिएको छ।   

भरतपुरमा मतगणना रोकिएपछि प्रमुख प्रतिपक्षी दल समेत रहेको नेकपा एमाले सुचारुको माग गर्दै संसद अवरुद्ध पारेको छ। उसले गणना गर्न आयोगको ध्यानाकर्षण समेत गराएको छ। 

तर सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले भने पुन: मतदान गर्नुपर्ने धारणा राखेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell