PahiloPost

Jun 15, 2025 | १ असार २०८२

नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर



पहिलोपोस्ट

नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर

खोटाङ: स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ। गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो।

जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ। ४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

नमुना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मतहाल्ने क्रममा अलमलमा परेका थिए। अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमुना मतदानमा सहभागी भएका थिए।

कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ। गोप्य कोठामा गएर स्वस्तिक चिह्न मसीमा चोब्न नजानेर मत हालेको ठाउँमा स्वस्तिक चिह्न नदेखिँदा दोहोर्‍याएर छाप हाल्ने गरेको देखिएको छ। कतिपय मतदाता मतपत्र पट्याएर मतपेटिकामा खसाउने क्रममा समेत अलमलमा परेका थिए। नमुना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ।

जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सञ्चालन गरिएको छ। १७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १७५ जना मतदाता शिक्षा स्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell