PahiloPost

Jun 15, 2025 | १ असार २०८२

सहमतीय सरकार गठनको समय सकियो, आजदेखि बहुमतीय प्रक्रिया



पहिलोपोस्ट

सहमतीय सरकार गठनको समय सकियो, आजदेखि बहुमतीय प्रक्रिया

काठमाडौँ: सहमतीय सरकार गठनको समयसीमा सकिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई सहमतीय सरकार गठनका लागि जेठ ११ गतेदेखि ७ दिनको समय दिएकी थिइन। उक्त समयसीमा बुधबार मध्यरातबाट सकिएको हो।

सात दिनको समयसीमा सकिनुअघि बुधबार राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी थिइन्। सर्वदलीय बैठकमा दलहरुबाट सहमतीय सरकार गठनमा थप पहल जारी राख्ने प्रतिबद्धता पाउन नसकेपछि बहुमतीय सरकार गठन आह्वानको तयारी राष्ट्रपतिले गरेकी हुन्।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बाहेक प्रमुख दलहरु सहमतीय सरकार गठनका लागि एक ठाउँमा जुटेर छलफल गर्न सकेका छैनन्। मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरे पनि पत्रको भाषामा नै असन्तुष्टि जनाउँदै प्रतिपक्ष दल एमाले छलफलमा सहभागी भएन।

राष्ट्रपति भण्डारीले बिहीबार संसद्लाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने पत्राचार गर्ने तयारी गरेकी छन्। राष्ट्रपतिको पत्राचार प्राप्त भए पनि प्रमुख प्रतिपक्ष दलले सदन अवरोध जारी राखेका कारण आन्तरिक कार्यतालिका प्रकाशन बाहेक अन्य प्रक्रिया अघि बढ्ने अवस्था छैन।

बहुमतीय प्रक्रिया सुरु भई सदनमा कुनै पनि अवरोध नभएमा छिटोमा तीन दिनमा प्रधानमन्त्रीको निर्वाचन हुन सक्नेछ। उम्मेदवारी आह्वान, दावी विरोध र नामावली प्रकाशन तथा उम्मेदवार गरी तीन दिनमा प्रधानमन्त्री चयन गर्न सक्ने पूर्व अभ्यास रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell