
काठमाडौं : संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि २१ गते निर्वाचन हुने भएको छ।
सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा बुधबार सकिएपछि संसदले बहुमतीय प्रक्रिया सुरु गर्न लागेको हो।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले नयाँ प्रधानमन्त्री चयनका लागि कार्यतालिका प्रकाशित गर्न लागेका हुन्। प्रधानमन्त्री चयनका लागि शनिबार मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र दाबी, विरोधका लागि समय छुट्याउने तयारी संसद सचिवालयले गरेको छ।
आइतबार संसदको ११ बजेको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेगरि सचिवालयले कार्यसूची तयार गरेपनि सार्वजनिक गरेको छ। सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले संसदमा असहज अवसथा रहेकाले शुक्रबार १० बजे कार्याव्यवस्था परामर्श समितिको बैठक लगत्तै कार्यसूची आउने बताए।
संसद बैठकमा मंगलबार देखि नेकपा एमालेले भरतपुर महानगरको मतगणनाको माग गर्दै अवरुद्ध पार्दै आएको छ। बिहीबारको बैठक पनि एमालेले अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीले संसदको अर्को बैठक २१ गतेका लागि डाकेकी छिन्।
मनोनयन दर्ता लगायतका कार्यक्रमका लागि संसद बैठक आवश्यक नभएपनि निर्वाचनका लागि भने संसद बैठक सुचारु हुनु आवश्यक छ।
एमालेको अवरोध कायम रहे २१ गतेको प्रधानमन्त्रीको निर्वाचन समेत प्रभावित हुने देखिन्छ। कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रधानमन्त्री चयनको कार्यतालिका एमाले जस्तो जिम्मेवार दलले अवरुद्ध नगर्नेमा आफू ढुक्क रहेको बताए।
संसदमा बिपक्षीकाे अबराेध छ,बहुमतका अाधारमा प्र.म चयनका लागि रा.प काे पत्र प्राप्त छ,बजेटमाथिकाे छलफल गर्नुछ,त्यसैले दलहरुले सहमति गर्नुपर्छ।
— Onasari Gharti (@SpeakerofNepal) June 1, 2017