काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशले आर्थिक समृद्धि खोजेको बताएका छन्।
लगानी बोर्डको २६ औं बैठकमा प्रधानमन्त्रीले निर्वाचनपछि राजनीतिक संक्रमणको अन्त्य हुने भएकाले आर्थिक समृद्धिमा लाग्ने बेला आएको बताए।
प्रधानमन्त्रीले आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएपनि विकास र समृद्धिमा सधैं साथमा रहेको बताए।
उनले भने,‘प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेको छु, लगानी बोर्डको बैठकमा अन्तिमपटक अध्यक्षता गर्दैछु । तर, विकास र समृद्धिका सवालमा म सधैं तपाईहरुको साथमा छु।’
बैठकले स्टाण्डर्ड अपरेटिङ प्रोस्युडर (एसओपी) को मस्यौदा तयार गर्न लगानी बोर्डका उपाध्यक्ष एवं उद्योगमन्त्रीको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ। बैठकले लगानी प्रवद्र्धनलाई प्रभावकारी बनाउन बोर्डका उपाध्यक्ष तथा उद्योगमन्त्रीकै नेतृत्वमा ८ सदस्यीय रणनीतिक योजना निर्देशक समिति पनि गठन गरेको छ।
त्यसैगरी, बैठकले माथिल्लो कर्णाली र अरुण तेस्रोको वित्तीय व्यवस्थापनका विषयमा अध्ययन गरी आगामी बैठकमा निर्णयार्थ पेश गर्ने, काठमाडौं उपत्यकामा मेट्रो रेल परियोजना सञ्चालनका लागि गठन गरिएको राय सुझाव समितिको प्रतिवेदन बुझाउने समयलाई तीन महिना म्याद थप गर्ने निर्णय पनि गरेको छ।