
काठमाडौं : फिफा वरीयतामा नेपाल चार स्थान सुधार गर्दै १६९औं स्थानमा उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुन महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपालले चार स्थान फड्को मारेको हो।
दक्षिण एसियामा सबैभन्दा अगाडी रहेको भारत सयौँ स्थानमा यथावत छ। माल्दिभ्स चार स्थान तल झर्दै १५६औं तथा भुटान दुई स्थान तल झर्दै १६६औं स्थानमा छ।
यस्तै दुई स्थान सुधार गर्दै बगलादेश १९२औं स्थानमा उक्लेको छ भने श्रीलंका १९७औं स्थानमा यथावत छ। एक स्थान सुधार गरेको पाकिस्तान दुई सयौँ स्थानमा छ।
विश्व वरीयतामा भने ब्राजिल शीर्ष तथा अर्जेन्टिना दोस्रो स्थानमा कायमै छ। यस्तै जर्मनी तेस्रो, चिली चौथो, कोलोम्बिया पाँचौ, फ्रान्स छैटौँ, बेल्जियम सातौँ, पोर्चुगल आठौँ, स्वीट्जरल्याण्ड नवौँ तथा स्पेन दशौँ स्थानमा यथावत छ। स्पेन समान अंक जोडेको पोल्याण्ड पनि एक स्थान सुधार गर्दै स्पेनसँगै संयुक्त रुपमा दशौँ स्थान छ।