PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

मतपत्र च्यात्ने धरौटीमा छुटे, अब भरतपुरमा च्यातिएका ९० मतको के हुन्छ?



रमेश वाग्ले

मतपत्र च्यात्ने धरौटीमा छुटे, अब भरतपुरमा च्यातिएका ९० मतको के हुन्छ?

भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। जेठ १४  गते राति वडा नम्बर १९ को मतगणना जारी रहँदा मतपत्र च्यातिएको थियो। त्यसयता रोकिएको मत गणना सुरु हुने वा पुनः मतदान हुने भन्ने विषयमा निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन।

'आयोगको निर्देशन अनुरुप भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा च्यातिएको मतपत्र एकिन भएको छ,' निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने, 'यसबारे निर्वाचन आयोगले निर्णय गरिसकेको छैन।'

उनले निर्णय नगर्दासम्म प्रक्रिया के हुन्छ भन्ने विषयमा केही भन्न नसकिने बताए। 

निर्वाचन आयोगले मतपत्र च्यातिएर मतगणना स्थगित भएपछि केन्द्रबाटै छानविनका लागि सहन्यायाधीवक्ता गीताप्रसाद  तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय टोली चितवन पठाएको थियो। 

तर, छानविन समितिको प्रतिवेदनमा गणना भइरहेका बखत मतपत्र च्यातिएको र नस्ट भएका मतपत्र पोको पारी सिलबन्दी गरी राखिएको भन्ने मात्र उल्लेख भएपछि आयोगले सिलबन्दी खोलेर नोक्सान भएको मत यकिन गर्न निर्देशन दिएको थियो। 

आयोगको निर्देशनका आधारमा चितवनका प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारको रोहबरमा सीलबन्दी गरिएको पोको खोली मतपत्र गणना गरिएको थियो। 

'हामीले निर्वाचन आयोगको निर्देशन अनुरुप सील खोलेर मत पत्र गनेका छौं,' चितवनका सहायक प्रमुख निर्वाचन अधिकृत, गम्भीर घिमिरेले भने, 'मत गणना गर्दा ९० मत नोक्सान भएको पाइएको छ।' 

कस्तो मतपत्रलाई नोक्सान भएको मानिन्छ? 

सहायक प्रमुख निर्वाचन अधिकृत घिमिरेका अनुसार च्यातिएर टुक्रा गएको र निर्वाचन चिह्न बिग्रिएको मतपत्रलाई नोक्सान भएको मनिन्छ। भरतपुरमा त्यही आधारमा ९० मतपत्र च्यातिएको ठहर गरिएको हो।

'निर्वाचन आयोगले नै मापदण्ड बनाएको छ, कुनै मतपत्रबाट टुक्रा गएको छ वा निर्वाचन चिन्ह नै नबुझिने भएको वा टुक्रिएर गएको छ भने त्यस्तो मतपत्रलाई नोक्सान भएको मानिन्छ,' घिमिरेले भने। 

अब के हुन्छ त? 

घिमिरेले  आयोगको निर्देशन अनुसार नोक्सान भएको मत गणना गरिएकाले अब जे गर्ने भए पनि निर्णय निर्वाचन आयोगले नै गर्ने बताए। 'हामीले त निर्देशन अनुरुप काम गर्ने हो त्यही काम गरेका हौं। अब जे गर्ने हो निर्वाचन आयोगले नै गर्छ,' उनले भने।

के छ कानुनी व्यवस्था?


स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३०ले मतपत्र नोक्सान भएमा के गर्ने भन्ने उल्लेख गरेको छ। दफा ३० को उपदफा १ मा मत गणना पूरा हुनुभन्दा पहिले मतदानका लागि प्रयोग गरिएको मतपत्र वा मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैर कानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावस् नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी तुरुन्त त्यसको प्रतिवेदन मुख्य निर्वाचन अधिकृत वा निर्वाचन आयोगलाई दिनुपर्ने छ भन्ने व्यवस्था छ। 

दफा ३० को उपदफा २ ले त्यसरी स्थगित गरिएको मत गणनाको काम पूरै अवैध घोषणा गर्ने व्यवस्था छ। त्यसैगरी उपदफा ३ ले त्यसरी अवैध घोषणा भएपछि प्रमुख निर्वाचन अधिकृतले निर्वाचन आयोगको निर्देशनमा यथाशीघ्र पुनः मतदानका लागि स्थान मिति र समय तोकी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ। 

दलहरुको आफ्नै अडान

नेपाली कांग्रेस र माओवादी केन्द्रले पुनः मतदान गर्नुपर्ने माग गरेको छ भने एमालेले पुनः मतदान अस्वीकार्य हुने भन्दै मतगणना सुरु गर्नुपर्ने अडान राखेको छ। एमालेले दुई दिनदेखि यही विषयलाई लिएर सदन अवरुद्ध गरिरहेको छ। एमालेले मतगणनाको माग राख्दै आज चितवन बन्दको घोषणा गरे पनि पछि फिर्ता लिएको थियो। 


च्यातिएको मतपत्र गणनापछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीले धेरै मतपत्र च्यातिएकाले पुनःमतदान हुनुपर्ने जनाएको भए पनि निर्वाचन आयोगको निर्णय स्वीकार गर्ने बताए। 

नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले च्यातिएका मतपत्र निर्णायक नभएकाले तिनलाई बदर गरी मतगणना सञ्चालन गर्नुपर्ने बताए। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले धेरै सङ्ख्यामा मतपत्र च्यातिएकाले पुनःमतदानको विकल्प नरहेको बताए। 

मतगणना जारी रहेका बेला गत आइतबार मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना गरिएको हो । मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार उम्मेदवार, तीनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुटै पासको व्यवस्था गरी प्रवेश गराएर मतपत्रको अवस्थाका बारेमा अध्ययन गरिएको बताए। 

मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजे ताला खोलेर च्यातिएको मतपत्रको अवस्था बुझ्नुका साथै तथ्याङ्क लिन सुरु गरिएको थियो । 

भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ । १९ नं को एक हजार ८०० मतगणना हुँदासम्म नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९०८ रहेको छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहेका छन्। महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो। 


मतपत्र च्यात्ने धरौटीमा छुटे

मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका दुई जना प्रतिनिधिलाई आज जिल्ला अदालत चितवनले जनही रु एक लाख धरौटीमा रिहा गरेको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell