
काठमाडौँ: प्रधानमन्त्री चयनको कार्यतालिका अघि बढाउने विषयमा अन्योल बढेपछि सभामुख ओनसरी घर्तीले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्।
सभामुख घर्तीले बिहान १० बजे कार्यव्यवस्था बैठक बोलाएकी छन्।
बिहीबार नै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको कार्यतालिका प्रकाशन गर्ने तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो।
राष्ट्रपतिबाट बहुमतीय सरकार गठनको आह्वान गरेको पत्राचार संसदलाई जानकारी गराएर कार्यतालिका प्रकाशन गर्ने प्रचलन भए पनि बिहीबार अवरोधका कारण अघि बढ्न सकेन। राष्ट्रपतिको पत्र प्राप्त भए पनि एमालेको अवरोधका कारण सदनको कार्यसूचीमा प्रवेश पाए पनि बैठकमा जानकारी भएन।
पत्रबारे औपचारिक जानकारी नभएको अवस्थामा प्रधानमन्त्री चयनको प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे सभामुखले कार्यव्यवस्था बैठक बोलाएकी हुन्। कार्यव्यवस्थाको निर्णय अनुसार कार्यतालिका र प्रक्रियाबारे टुंगो लाग्नेछ।
सभामुख घर्तीले अनौपचारिक रुपमा भने आइतबार प्रधानमन्त्री चयन गर्नेगरी कार्यतालिकाको तयारी गर्न सचिवालयलाई निर्देशन दिएकी छन्। शुक्रबार दिउँसो कार्यतालिका प्रकाशन गरी शनिबार उम्मेदवारी मनोनयन, दावी विरोध र नाम सार्वजनिक गर्नेगरी कार्यतालिका तय गर्न निर्देशन दिएकी छन्।
संसद् सचिवालयले भने कम्तीमा ३ दिनको समयावधि रहने गरी कार्यतालिका प्रकाशनको तयार गरेको छ।