PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

तेह्रथुमका १३ मतदानस्थल संवेदनशील



रासस

तेह्रथुमका १३ मतदानस्थल संवेदनशील

तेह्रथुमः जिल्ला सुरक्षा समितिले तेह्थुमका १३ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिले  संवेदनशीलको सूचीमा राखेको छ। 
जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईका अनुसार लालीगुराँस नगरपालिकाका जनजागरण आधारभूत विद्यालय र सिंहवाहिनी मावि मतदान केन्द्र, फेदाप गाउँपालिकाका पञ्चकन्या मावि र सिद्धगणेश मावि मतदान केन्द्र तथा मेन्छ्यायेम गाउँपालिकाका शारदा मावि, कालिका आधारभूत विद्यालय र जनप्रिय मावि मतदान केन्द्र संवेदनशील घोषणा भएका छन्। 

यस्तै, फेदाप गाउँपालिकाका पञ्चकन्या आधारभूत विद्यालय, सिद्धकाली मावि जौँबारी र पञ्चकन्या आधारभूत विद्यालय मतदान केन्द्र संवेदनशील रहेका छन्। आठराई गाउँपालिकाका कालिका मावि, महेन्द्र मावि र गाविस भवन मौलेडाँडा मतदातस्थल सुरक्षाका दृष्टिले संवदेनशील ठहराइएको छ । बाँकी ४४ वटा मतदानस्थलको अवस्था भने सामान्य रहेको छ। 

जिल्लाका ५७ स्थानमा ८५ वटा मतदान केन्द्र रहेका छन्।

ती क्षेत्रमा हुन सक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, मतदाता सङ्ख्या र विगतका निर्वाचनमा भएका घटनाका आधारमा मतदानस्थललाई संवेदनशील र सामान्य अवस्थामा वर्गीकरण गरिएको जनाइएको छ। 

एउटा मतदानस्थलमा मतदाता सङ्ख्या हेरी दुईदेखि तीनवटासम्म मतदान केन्द्र निर्धारण गरिनेछन्। 

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्थुममा ६० हजार ७०४ मतदाता छन्। बदर मत कम गराउन निर्वाचन कार्यालयले मतदाता शिक्षालाई जोड दिएको निर्वाचन अधिकारी राईले जानकारी दिए। 

अहिले जिल्लाभर एक मतदान केन्द्र एक निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell