PahiloPost

Jun 15, 2025 | १ असार २०८२

च्याम्पियन्स ट्रफी : रुटको शतकमा इंगल्याण्डको विजयी सुरुवात, इकवालको शतकले बंगलादेशको हार टार्न सकेन



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी : रुटको शतकमा इंगल्याण्डको विजयी सुरुवात, इकवालको शतकले बंगलादेशको हार टार्न सकेन

तमिम इकवालको शतकलाई छायाँमा पार्दै जोए रुटले शतक बनाएपछि च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक इंगल्याण्डले बंगलादेशलाई हराउँदै विजयी सुरुवात गरेको छ।

बिहिबार भएको उद्घाटन खेलमा इंगल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गर्दै समूह ए मा २ अंक जोडेको हो।

लण्डनस्थित ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इकवालको शतक मद्दतमा ६ विकेट गुमाउँदै ३०६ रन बनाएको थियो। इकवालले १४२ बल खेल्दै १२ चौका र ३ छक्काको मद्दतमा १२८ रन बनाए। कप्तान मुस्फिकर रहिमले ७९ रन जोडे। बलिङमा इंगल्याण्डका लियम प्लनकेटले ४ विकेट लिए।

जवाफमा ३०६ रनको लक्ष्य इंगल्याण्डले ४७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। इंगल्याण्डलाई विजयी सुरुवात दिलाउन जोए रुटले नटआउट १३३ रन बनाए। १२९ बल खेलेका रुटले ११ चौका र १ छक्का प्रहार गरे।

तेस्रो ओभरमै ओपनर ज्यासन रोएलाई एक रनमा गुमाएको इंगल्याण्डका लागि रुट र एलेक्स हाल्सले दोस्रो विकेटका लागि १५९ रनको साझेदारी गरे। शतक बनाउनबाट ५ रनले मात्र चुकेका हाल्सले ८६ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरे।

यस्तै तेस्रो विकेटका लागि रुटले कप्तान इयान मोर्गनसँग नटआउट १४३ रनको साझेदारी गरे। ६१ बल खेलेका मोर्गनले ८ चौका र २ छक्काको मद्दतमा नटआउट ७५ रनको योगदान गरे।

प्रतियोगिता अन्तर्गत आज समूह ए कै अष्ट्रेलिया र नयूजिल्याण्डबीच ब्रिमिङहममा खेल हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell