
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनमा सुरक्षा सतर्कता बढाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, काठमाडौंमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १६५ औं समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्रीले पहिलो चरणको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै दोश्रो चरण तथा प्रदेश र संघका निर्वाचनहरुमासमेत यस्तै भूमिकाको अपेक्षा गरेको बताए।
लोकतन्त्रसँगै आमनागरिकमा राज्यप्रतिको माग र आकांक्षाहरु एकातिर बढेर गएका र अर्कोतर्फ केही आपराधिक र गैरराजनीतिक तत्वहरु यसै अवसरलाई उपयोग गरी अवाञ्छित क्रियाकलाप सञ्चालन गर्ने दुष्प्रयास गरिरहेका भन्दै प्रधानमन्त्रीले यसतर्फ नेपाल प्रहरी सजग हुनुपर्ने बताए।