
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री चुनावको कार्यतालिका प्रकाशनमा अवरोध गरेको छ।
भरतपुरमा मतगणना स्थगित भएदेखि नै संसद अवरोध गर्दै आएको एमालेले प्रधानमन्त्री चुनावका लागि कार्यतालिकाको प्रकृया नै विथोल्न खोजेको हो।
संसद्ले आगामी २१ गते प्रधानमन्त्री निर्वाचन गराउन कार्यतालिका प्रकाशनको तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दलले कार्यतालिका नल्याउन सभामुखलाई चेतावनीसहित आग्रह गरेको छ। सभामुख ओनसरी घर्तीले संसद रहेको अवरोध हटाउने र प्रधानमन्त्रीको चुनाव गराउने विषयको छलफलका लागि आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा डाकेकी थिइन्।
'एमालेले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको छ,' कार्यव्यवस्था परामर्श समितिको बैठकपछि एमाले सांसद् राजेन्द्र पाण्डेले भने, 'संसद अवरुद्ध भएको अवस्थामा प्रधानमन्त्री चयन पनि हुन सक्दैन, संसद सुचारू नभएसम्म हामी कुनै पनि संसदीय प्रक्रियामा भाग लिँदैनौ भनेर चेतावनी दिएका छौं।'
चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मत गणना रोकिएको विषयमा केही दिनदेखि संसद अवरुद्ध गर्दै आएको एमालेले प्रधानमन्त्री चुनावको तालिका ल्याउन समेत अवरोध गरेको हो।
पाण्डेले संसद् बैठक अवरोध भइरहेका बेला प्रधानमन्त्री चुनावकै लागि मात्र खोल्न नहुने बताए।
माओवादी सांसद् रामनारायण बिडारीले राष्ट्रपतिले पठाएको पत्रको अवज्ञा गर्न नहुने भन्दै प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउनुर्ने बताए।
'संसद्ले राष्ट्रपतिले पठाएको पत्रको अवज्ञा गर्नु हुँदैन र आलटाल नगरी प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ,' सांसद बिडारीले भने, 'एमालेले पनि यसलाई सम्मान गर्नुपर्छ र सभामुखले पनि दृढताका साथ संसदको प्रक्रिया अघि बढाउनुपर्छ।'
उनले संसदले तयारी गरेको कार्यतालिका अनुसार २१ गते हुने प्रधानमन्त्री चुनावको दिन संसद् अवरोध नगर्नका लागि शीर्ष तहमा छलफल गर्नेपर्न भन्दै त्यसमा सभामुखले समन्वय गर्नुपर्ने बताए। 'प्रधानमन्त्री निर्वाचनको प्रक्रिया जसरी पनि सुरु गर्नुपर्छ,' बिडारीले भने।