काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी प्रधानमन्त्री चुनावलाई अवरोध नगर्न सुझाव दिएका छन्। अध्यक्ष थापा एमाले संसदीय दलको कार्यालय सिंहदरबार पुगेर भरतपुरको मत गणना रोकिनु र संसदमा हुने प्रधानमन्त्री चुनाव फरक-फरक प्रक्रिया भएको भन्दै एकले अर्कोलाई प्रभावित गर्न नहुने बताएका हुन्।
एमालेको आयोजनामा विपक्षी गठबन्धनको बैठक जारी रहेकै बेला त्यहाँ पुगेका अध्यक्ष थापाले बैठक सकिएपछि ओलीसँग आधा घण्टा भेटवार्ता गरेका थिए। थापाले संसदमा प्रधानमन्त्री चयन गर्ने प्रक्रिया रोक्दा राम्रो सन्देश नजाने भन्दै त्यस्तो नगर्न आग्रह गरे।
'स्थानीय तहको निर्वाचनको मत गणना प्रक्रिया र संसद्मा हुने प्रधानमन्त्री चुनावको प्रक्रिया अलग–अलग विषय हुन्, त्यसैले एकले अर्को प्रभावित गर्नु हुँदैन,' भेटपछि कमल थापाले भने, 'हाम्रो धारणा चाहिँ मत गणना पनि तत्काल सुरु हुनुपर्छ र संसद्मा प्रधानमन्त्री चयनको प्रक्रिया पनि प्रभावित हुनु हुँदैन।'
भेटमा थापा र ओलीबीच संसद्को प्रक्रियाका विषयमा पनि कुराकानी भएको थियो।
भेटमा ओलीले राष्ट्रपतिले बहुमतीय प्रक्रियाका लागि पठाएको पत्र नपढी निर्वाचन कार्यतालिका कसरी आउन सक्छ भन्दै थापासँग प्रश्न गरेका थिए।
'उहाँले राष्ट्रपति कार्यालयको पत्र पढेर नसुनाई संसद्को बहुमतीय प्रक्रिया कसरी सुरु हुनसक्छ? भन्दै प्रश्न उठाउनु भएको थियो,' थापाले भने, 'मैले त्यो परम्परा मात्र हो त्यसका आधारमा निर्वाचन प्रक्रिया अघि बढाउन रोकिन्छ भन्ने हुँदैन भनेको छुँ।'