काठमाडौंः आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत (निजी) विद्यालयमा पुरुषको तुलनामा १५ प्रतिशत भन्दा बढी शिक्षक महिला कार्यरत छन्।
सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा शिक्षक महिलाको सङ्ख्यामा वृद्धि हुनसकेको छैन। कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ।
अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण (२०७३/७४) का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत मात्र शिक्षक महिला रहेकोमा संस्थागत विद्यालयमा भने ४५ दशमलव १ प्रतिशत शिक्षक महिला छन्। हाल मुलुकमा ३५ हजार २२२ विद्यालय छन्।
सर्वेक्षण अनुसार सामुदायिकतर्फ निजी स्रोतमासमेत गरी शिक्षक महिलाको सङ्ख्या एक लाख १३ हजार ४११ र पुरुष शिक्षक एक लाख ९९ हजार २७६ गरी तीन लाख १२ हजार ६८७ शिक्षक छन्।
निजी विद्यालयतर्फ शिक्षक महिलाको सङ्ख्या ३८ हजार ९३६ र पुरुष शिक्षक ४७ हजार ३२६ गरी ८६ हजार २६२ शिक्षक कार्यरत छन्।
सामुदायिक विद्यालयका शिक्षकमध्ये अधिकांश तालिम प्राप्त छन् । आधारभूत तहमा ९२ दशमलव ७ प्रतिशत शिक्षक तालिम प्राप्त छन् भने माध्यमिक तह (९—१२) मा ८७ दशमलव ५ प्रतिशत शिक्षक तालिम प्राप्त छन्।
हाल प्राथमिक तहको खुद भर्ना दर ९६ दशमलव ७ प्रतिशत र टिकाउ दर ८६ दशमलव ८ प्रतिश रहेको छ।
यस्तै, १५ देखि २४ वर्ष उमेर समूहको साक्षरतादर ८८ दशमलव ६ प्रतिशत रहेको छ। रासस