PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कान्तिपुर गाथा : कहिले गुण्डाराज कहिले पुलिस राज



किशोर नेपाल

कान्तिपुर गाथा : कहिले गुण्डाराज कहिले पुलिस राज

कान्तिपुर शहर अनौठो छ। यहाँ कहिले गुण्डाहरुको राज्य हुन्छ, कहिले पुलिसको। चुनावको मौसममा गुण्डाहरु खोरमा थुनिएका छन्। त्यसैले अहिले यहाँ छ पुलिस राज। पुलिस राजको यो मौसममा पुतली सडकको जेब्रा क्रसिङमा उभिएर कनिका तमासा हेर्दै थिई। ट्राफिक पुलिसहरु बाटो काट्ने हुलका हुल मानिसलाई पक्रिरहेका थिए। ती मानिसको गल्ती थियो, जेब्रा क्रसिङबाट बाटो नकाट्नु। कनिकाले सडकमा नियालेर हेरी, जेब्रा क्रसको चिन्ह सडकमा कहीँ थिएन। कुनैबेला थियो भने पनि अहिले त्यसको बीऊ पनि बाँकी थिएन। ‘धत्,’ कनिकाले मनमनै भनी, ‘यस्तो पनि हुँदो रहेछ।’ 

पुलिसहरु सडकमा 'टेरर क्रियट' गरिरहेका थिए। उसले देखी, गर्मीको ड्रेस अपमा एउटी केटी बाटो काट्न आई। उ बीच बाटोमा पुग्नै लाग्दा पुलिसले उसलाई रोक्यो। त्यसपछि हातमा रहेको रसिद प्याड खोल्यो र सोध्यो, ‘नाम के हो तपाईंको?’

केटीले जवाफ दिई, ‘विभूना।’

पुलिसले भन्यो, ‘ल ५०० रुपैयाँ निकाल्नुस्।’

केटी आत्तिई, ‘किन? के को?’

पुलिसले उसको हटप्यान्ट, स्लीभलेस र कम्फर्ट सुज तलदेखि माथिसम्म नियालेर हेर्‍यो र जवाफ दियो, ‘तपार्ईँले रङ साइडबाट बाटो काटेर नियम तोडनु भयो नि। त्यसैको जरिवाना। हामीले यसको जानकारी जताततै दिएका छौं। तपाईँले हेर्नु भएन?’

विभूना केही बोलिन। उसले रुन्चे मुख लगाउँदै आफनो पर्सबाट पाँच सयको नोट निकाली र पुलिसलाई बुझाई। त्यसपछि उ हतार हतार त्यहाँबाट निस्किई। 

निस्किँदा निस्किँदै पुलिसले उसलाई बोलायो, ‘ओ मैयाँ, रसिद लिएर जानुस्।’ 

उ फर्किई र रसिद पनि हतार हतार नै लिई। त्यहाँबाट निस्किँदा उसको अनुहार डरले निचोरिएको निबुवा जस्तो देखिएको थियो।

डराउनेको यो भिडमा विभूना एक्ली थिइन।  पुलिसहरु पूरै बटुवाहरुको हूललाई घेरेर जरिवाना असुल गरिरहेका थिए। विभूनाकै उमेरकी एउटी केटी कराउँदै थिइ, ‘बाटो काट्दा पनि जरिवाना तिर्नुपर्ने कहाँको नियम हो यो?’

पुलिसले ती केटीलाई नजिकैको भ्यानमा चढाउँदै भन्यो, ‘जे जे भन्नुपर्ने हो अब उहीँ वग्गीखानामा गएर भन्नुहोला।’

‘एनिमल फार्म’ कनिकाले जर्ज अरवेलको उपन्यासका परिस्थिति र पात्रहरुसँग आफ्नो देशको तुलना गरी। समानता धेरै थिए, असमानता कम। सरकार चलाउनेहरु ढीट थिए, तर सत्ता–बृत्तमा रहेका पढे लेखेका प्रभावशाली नागरिक कम ढीट थिएनन्। यी नागरिकहरु आफ्ना सुविधाका विषयमात्र होइन, आफ्ना उद्योग–धन्दामा पनि सरकारले आर्थिक सहयोग गरोस् भनेर आवाज उठाउँथे। आफूलाई राम्रो लाग्ने र आफ्नो स्वार्थ नजिकका मानिसहरुको देवत्वकरण गर्दथे। बाँकी सबै राक्षसमा दरिन्थे।

नियम बिरुध्द बाटो काट्नेलाई जरिवाना गरिने कुराको चर्चा गरिँदा कनिकाका बाबाले भनेका थिए, ‘सरकार कमजोर भएको बेलामा जसको हातमा डण्डा हुन्छ त्यसैले अधिकारको प्रयोग गर्दछ। कान्तिपुर शहरमा यसै पनि सडक कम छ। त्यसमा पनि जेब्रा क्रसिङको व्यवस्था गरिएको सडक सारै कम छ। यस्तोमा बलपूर्वक नियम प्रचलित गर्ने कुरा कसैले गर्दैन। तर, सरकार कमजोर छ। उसको तर्फबाट हातमा डण्डा लिएका सुरक्षाकर्मीहरु हावी भएका छन्। यसैलाई भन्छन् पुलिस राज।’

सुदिप्तीको तर्क पनि बाबाकै जस्तो थियो। कनिका सोच्दै थिई, ‘के के न होला भनेको। यस्तो पो हुने रहेछ राजनीति।’

कनिकालाई थाह थियो, यो राजनीति होइन। जहाँसुकैको सरकारले पनि गल्ती गर्नेलाई जरिवाना र अन्य सजाय गर्छ। त्यो त स्वाभाविक नै हो। तर, यहाँ चाहिँ सरकारको नाममा सुरक्षा निकायले गल्ती नै नगरेका जनतालाई फोकटमा जरिवाना गर्दछ। जेब्रा क्रसिङ नै नभएको अथवा भएर पनि मेटिएको, सडक पार गर्ने आकाशे पुल नभएको, सडक पेटी नभएको अवस्थामा सडक पार गर्न लागेका जनतालाई समातेर जरिवाना गर्नुको के तुक छ?

सञ्चार माध्यमहरुले यो अभियानको चर्को विरोध गरेका छैनन्। इस्सू के हो? कसैलाई थाह छैन। केही सञ्चार माध्यमहरु डटेर लागेका छन् यो अन्यायका विरुध्द। सरकारी निकायको काम नियम लागू गराउनु हो। नियम लागू गराउने नाममा जनताको वैधानिक पाकेटमारी गर्नु होइन। कनिकालाई रीस उठेको थियो। यी साना साना कुरा जेलिएर नै ठूला समस्या आउँछन् भन्नेमा उ कन्भिन्स थिइ। 

यत्तिकैमा सडक पार गर्दै गरेका एकहुल मानिस पुलिसको घेराउमा परे। तीमध्ये अधिकांश वृध्दवृध्दा, केटाकेटी र महिला थिए। पुलिसले उनीहरुसँग जरिवाना असुल्न थालेपछि कनिकालाई असह्य भयो। उ विरोधमा उत्रिई। तर, पुलिसहरुले उसको आवाज सुनेको नसुन्यै गरिदिए। एकजना हवल्दारले यति बताइ दियो, ‘हामीले सडक ऐन अनुसार काम गरेका हौं। कानून बमोजिम।’


(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


यो सिरिजका थप गाथा

कनिकाका नजरमा प्रधानमन्त्री ​

इलेक्सनको बोरिङ अपडेट छाडेर रोमान्टिक बनेकी कनिका

कुलमानमा कनिकाको आँखा 
अदालतमा कनिका
कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम

कनिकाको नयाँ वर्ष

महाराज महारानीको भोजमा राष्ट्रपति ​

चुनावी चक्रव्यूहमा कनिका
कान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell