.jpg)
- सुरेन्द्र भण्डारी
तर, झापामा भइदियो यस्तै। आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमानसँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ की बबिता बस्नेत र हाँडीखोला–७ विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो।
गत जेठ ११ गते बबिता र विष्णु ११ बजे बबिताको घरबाट हिंडेका थिए । उनीहरुले विराटनगर पुगेर बबिताका दाजु कुलमणि बस्नेतलाई आफू अपहरणमा परेको भन्दै १० लाख फिरौती रकम मागेका थिए।
साँझ ५ बजेर ३ मिनेट जाँदा बबिताले प्रयोग गर्ने मोबाइलबाट दाजु कुलमणि बस्नेतलाई “तेरी बहिनी मेरो कब्जामा छ, सकुशल चाहन्छस् भने १० लाख भनेको ठाउँमा ल्याइदे, नत्र बहिनी र तँ अनि तेरा छोराछोरीलाई खतरा हुन्छ” भन्दै फोन गरेको रेकर्ड प्रहरीले फेला पारेको छ।
लगत्तै सोही मोबाइलबाट उनलाई सोही प्रकृतिको सन्देश पठाइएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए।
विराटनगरबाट बबिताका दाइ कुलमणिलाई फिरौतीको रकम मागेपछि भेडेटार गएर उनका श्रीमान् र छोरालाई फोन र एसएमएस गर्दै फिरौती रकम बढाएर ३० लाख पुर्याएको प्रहरीले जनाएको छ।
“रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीको किनारमा भेटाउँछस्” भन्दै बबिताका श्रीमान्लाई गोतामेले बबिताकै नम्बर प्रयोग गरेर एसएमएस गरेको अनुसन्धानका क्रममा छ।
११ गते बबिता बेपत्ता भएको भन्दै उनका श्रीमान् मेघराज चौहान र छोरा इप्रकामा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
बबिताको फेसबुक आइडीबाट छोरा, श्रीमान् र दाजुलाई आफू अपहरणमा परेको र आफ्नो हालत यस्तो भएको भन्दै अडियोसहितको भिडियो म्यासेज पठाएर अपहरणमा परेको नाटक गरिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए।
प्रहरी नायब उपरीक्षक थेवेका अनुसार उनका श्रीमान्ले १० लाखमात्र दिने भनेपछि पैसाकोसमेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै सूचना पठाएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक थेवेले भने, “प्रहरी र उनका श्रीमान्ले नगद १० लाख बबिता सुत्ने खाटमा राखेर तस्बिर खिचेर म्यासेज बक्समा पठाएपछि उनीहरुले थप पाँच लाख मागे। सो रकमसमेत हामीले बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए। पैसा लिन आउने गोतामेका भाञ्जा रहेका र अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट पक्राउ गरेका हौँ।”
गोतामे र बबिता भागेर कसैले थाह नपाओस् भनी फिरौती रकम माग्दै स्थान परिवर्तन गर्दै बसेका खुलेको छ। प्रहरी नायब उपरीक्षक थेवेका अनुसार भागेको दिन विराटनगरबाट भेडेटार, १२ गते धरान चतारा हुँदै झुम्का, १३ गते वीरगन्ज, १४ गते सर्लाही, १५ र १६ गते पुनः वीरगञ्मा बसेका थिए।
जेठ १७ गते सर्लाहीको लालबन्दीको होटलमा रहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। बबिताका १८ वर्षका छोरा रहेको बताइएको छ।
उता गोतामेका श्रीमतीसहित दुई छोरी र एक छोरा छन्। गोतामे र बबिताले सहमतिमा भागेर विवाह गर्ने निर्णय गरेको र जेठी श्रीमतीलाई मिलाउन आफूले यो नाटक गरेको पक्राउ परेका गोतामेले प्रहरीलाई बताएका छन्।
पक्राउ परेका गोतामे वैदेशिक रोजगार कम्पनी चलाउने व्यवसायी भएको बताइन्छ। उनले भारतको सिलगढीमा बबितासँग मिलेर कार्यालय खोल्न लागेकोसमेत बताइएको छ ।
अपहरणमा परेको नाटक गर्दै फिरौती रकम माग्ने बस्नेत र गोतामेलाई प्रहरीले थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।रासस