काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कार्वाही गर्ने अभियान आगामी सातादेखि उपत्यकाभर बिस्तार गर्ने भएको छ।
जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई दुई सय रुपैयाँ वा तीन घण्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी सातादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो।
महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पूर्वाधार अभावका कारण अहिले ३० देखि ३५ स्थानमा मात्र कारबाही गरे पनि आगामी सातासम्म पूर्वाधार निर्माण गरेर उपत्यकाभर कार्बाही गर्न लागेको जानकारी दिए।
मङ्गलबारदेखि पैदलयात्रु सुरक्षा अभियान कडाइका साथ सञ्चालन गरेको महाशाखाले हालसम्म १० हजार ८६१ जनालाई कार्बाही गरिसकेको छ।
कारबाहीमा परेकामध्ये छ हजार ६१८ जनाबाट १३ लाख २३ हजार ६ सय रुपैयाँ राजस्व सङ्कलन गरेको तथा दुई सय रुपैयाँ नहुने चार हजार २४३ पैदलयात्रुलाई सचेतना कक्षा लिएको महाशाखाले जनाएको छ।
उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो। रासस