PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु, शनिबार उम्मेदवारी दर्ता, आइतबार चुनाव



मनोज सत्याल

नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु, शनिबार उम्मेदवारी दर्ता, आइतबार चुनाव

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कडा दवावकै बीच संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको छ। 

संसद् सचिवालयले प्रकाशित गरेको कार्यतालिकाअनुसार शनिबार उम्मेदवारको मनोनयन दर्ता हुने छ भने २१ गते आइतबार बिहान ११ बजेको बैठकबाट प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुने छ। 


यसअघि आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन आग्रह गरेको थियो। प्रतिपक्षीले आग्रह गरे लगत्तै सभामुख अनसरी घर्तीले प्रमुख तीन दलसँगै परामर्श लिएकी थिइन्।

प्रमुख तीन दलको बैठकमा प्रतिपक्षी एमालेका तर्फबाट पूर्वसभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल पुगेका थिए भने कांग्रेसबाट मन्त्री रमेश लेखक र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ थिए। 

माओवादी केन्द्रबाट भने उपप्रधानमन्त्री समेत रहेका नेता कृष्णबहादुर महरा र प्रमुख सचेतक टेकबहादुर खड्का सहभागी थिए। 
बैठकमा एमालेका नेताले राष्ट्रपतिको पत्र संसदमा नपढी कसरी प्रक्रिया सुरु हुन्छ भन्दै प्रश्न उठाएका थिए। 

जवाफमा कांग्रेस नेता रमेश लेखकले नियमावलीले त्यस्तो कुनै बाधा खडा नगरेको र २१ गतेको बैठकमा राष्ट्रपतिको पत्र पढेर नै प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु हुने बताएपछि सभामुख घर्तीले आफ्ना कानुनी सल्लाहकार समेतको सुझावमा महासचिवलाई कार्यतालिका प्रकाशन गरी निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएकी हुन्। 

निर्देशन दिए लगत्तै महासचिव मनोहरप्रसाद भट्टराईले प्रधानमन्त्री निर्वाचन कार्यतालिकाको सूचना प्रकाशित गरे। 

'संसद अवरुद्ध भएको अवस्थामा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सुचनाको विधि अघि बढाउन हुँदैन भनेर हामीले भन्यौं,' सभामुखसँगको बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, 'बाहिरैबाट सूचना प्रकाशित गरेर प्रधानमन्त्री निर्वाचनमा जाँदा कतिको ठिक हुन्छ?, तर संसदको प्रक्रियाबाट जानु उचित हुन्छ, सहयोग हुन्छ भनेका छौं।'

कांग्रेस नेता रमेश लेखकले नियमावलीले निर्वाचनको प्रक्रिया अघि बढाउन कुनै बाधा नगरेको बताए। 'व्यवस्थापिका संसद कार्यसंचालन नियमावलीले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन कुनै बाधा खडा गरेको छैन,' लेखकले भने, 'विपक्षीको अवरोधबारे अवरोध गरिरहेको पक्षले विचार गर्नुहुन्छ, प्रक्रियालाई त्यसले बाधा गर्दैन।' 

माओवादी नेता कृष्णबहादुर महराले सभामुखले सुझाव मागेकाले प्रक्रिया अघि बढाउन सुझाव दिएको बताए। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell