काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ राजधानीमा जारी पिएम कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा मध्यपश्चिमलाई ५ विकेट पराजित गर्दै विभागीय टोली सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको हो।
यसअघि नै समूह ए बाट पश्चिमाञ्चल दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ। समूहमा जितविहिन रहेका मध्यपश्चिम र मध्यमाञ्चल भने बाहिरिसकेका छन्। अब समूह चरणमा एपीएफ र मध्यमाञ्चल बीच खेल हुनेछ।
समूह बी बाट दुई विभागीय टोली आर्मी र पुलिस क्रमश: समूह विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन्।
अब शनिबार हुने अन्तिम लिग खेलबाट समूह ए का विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर १८१ रन बनायो। उसका लागि अनुपम सिंहले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ५६ रन बनाए।
आठौं विकेटका लागि सिंहले सिद्धान्त शाहीसँग ६८ रनको साझेदारी गरे। ४२ बल खेलेका शाहीले २ चौका र २ छक्काको मद्दतमा नटआउट ३५ रन बनाए। यस्तै राजविर सिंहले ३७ तथा कप्तान सुबेन्दु पाण्डेले २३ रन बनाए।
बलिङमा एपीएफका भुवन कार्कीले ३ तथा अभिनास बोहराले २ विकेट लिए।
ओपनर सन्दीप सुनारले ८७ रन बनाएपछि १८१ रनको लक्ष्य एपीएफले २८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। ८३ बल खेलेका सन्दीपले ७ चौका र ५ छक्का प्रहार गरे। यस्तै आसिफ शेखले ४० रनको योगदान गरे भने पृथु बास्कोटा १५ रनमा नटआउट रहे।
मध्यपश्चिमका अमरसिंह राउटेला र विजय चौधरीले समान २ विकेट लिए।