PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नवनिर्वाचित मेयरको ‘साइरन सवारी’ गैरकानुनी : गृह मन्त्रालय 



सविन ढकाल

नवनिर्वाचित मेयरको ‘साइरन सवारी’ गैरकानुनी : गृह मन्त्रालय 

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले बुधबार गरेको साइरन सवारी गैरकानुनी रहेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। 

राष्ट्रिय सभागृहमा सपथ ग्रहण गरेलगत्तै पदभार ग्रहणका लागि त्यहाँबाट बागदरबारस्थित कार्यालयसम्म मेयर शाक्यको साइरनजडित सवारीलाई महानगर प्रहरीले अगुवा पछुवासहित एस्कर्टिङ गरेको थियो। 

गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थी काठमाडौं महानगरपालिकाका मेयरले साइरन भएको सवारी चढ्न अनुमति लिएको आफूलाई जानकारी नभएको बताउँछन्। 

'विशिष्ट व्यक्तिको लागि साइरन भएको सवारी चढ्ने प्रबन्ध छ तर मेयरको लागि कुनै जानकारी छैन,' उनले पहिलोपोस्टलाई बताए। 

साइरन भएको सवारी दिन सरकारले रोक लगाएको गृह मन्त्रालयको आन्तरिक शाखा अन्तर्गतको सवारी व्यवस्थापन शाखाका उपसचिव सुरेन्द्र पौडेल बताउँछन्। 

'केही समयदेखि कसैलाई पनि साइरनजडित सवारीको अनुमति दिएका छैनौँ,’ उनले भने, ‘कोही माग गर्न आउनुभएको पनि छैन।'

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङ्मार लामा पनि मेयर शाक्यलाई स्कर्टिङको व्यवस्था नहुने र सर्सर्ति हेर्दा साइरन भएको सवारी चढ्न नमिल्ने बताउँछन्। 

काठमाडौँ महानगरपालिकाले आफ्नै पहलमा वैशाख १ गतेदेखि सुरु गरेको हर्न निषेधित अभियानलाई खिल्ली उडाउँदै महानगर प्रमुखकै गाडीले चर्को आवाजसहितको साइरन सवारी गरेका हुन्। 

नियम अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख जस्ता भिआइपी र सुरक्षा प्रमुखहरुले मात्र साइरन जडित सवारी चढ्न पाउँछन्। त्यसैगरी आकस्मिक सवारी साधनहरु दमकल, एम्बुलेन्स र प्रहरीले साइरन भएको सवारी चढ्न पाउँछन्।

महानगरपालिकाका मेयर मर्यादाक्रमको सूचीमा समेत १८ औँ नम्बरमा अर्थात् प्रहरी र सशस्त्रका एआइजीहरुभन्दा मुनि तर सहसचिव र जिल्ला न्यायाधीशभन्दा माथि पर्छन्। 

नेपालमा प्रहरीले रातो रंगको, एम्बुलेन्सले पहेँलो र भन्सारले निलो रंगको साइरन बत्ती जडान गर्नुपर्ने व्यवस्था भएपनि कार्यान्वयन भने भएको पाइँदैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell