PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रधानमन्त्रीमा एमालेबाट वामदेवको चर्चा : हुकुमको एक्का कि चिडीको दुवा?



मनोज सत्याल

प्रधानमन्त्रीमा एमालेबाट वामदेवको चर्चा : हुकुमको एक्का कि चिडीको दुवा?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि कांग्रेस-माओवादी गठबन्धनबाट नयाँ प्रधानमन्त्रीको उम्मेद्वार हुँदैछन् कांग्रेस सभापति शेरबहादुर देउवा। 

संसद सचिवालयले प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गरिसकेको छ। शनिबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

माओवादी कांग्रेसको अहिलेकै गठबन्धनबाट देउवाले उम्मेदवारी दर्ता गर्दैछन्। अघिल्लोपटक यही गठबन्धनबाट प्रचण्डले उम्मेद्वारी दर्ता गरेका थिए। तर, प्रचण्ड विरुद्ध एमालेले उम्मेद्वारी दिएको थिएन। प्रचण्डका लागि एमालेले मैदान खाली राखेको थियो। उनले ३ सय ६३ मत पाउँदै प्रधानमन्त्री बने। 

तर, कांग्रेस सभापति शेरबहादुर देउवाका लागि एमाले मैदान खाली राख्ने मुडमा छैन। एमाले स्थायी समिति सदस्य शंकर पोखरेलका अनुसार देउवासँग एमालेले वामदेव गौतमलाई मैदानमा उतार्नेछ। 

पोखरेलले एमालेको मुडबारे भनेका छन् – 'हाम्रो तर्फबाट वामदेव गौतमको बलियो सम्भावना छ। हामी उहाँलाई नै प्रधानमन्त्री उठाउँछौँ।'
वामदेवको सम्भावनाबारे अड्कल पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि चुलिएको हो। जेठ २ गते एमाले स्थायी समितिको बैठक गौतमको भैँसेपाटीस्थित निवासमा बसेको थियो। लगत्तै गौतमलाई एमालेको भावी प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा चर्चा गरियो। तीन तीन पटक गृह मन्त्रालय सम्हालिसकेका छन् गौतमले।
 
गौतमलाई एमालेमा २०५४ को स्थानीय निर्वाचनमा गृह मन्त्रालयमा रहेर जीत दिलाउन भूमिका खेलेको श्रेय दिइन्छ। त्यसपछि प्रचण्ड नेतृत्वमा २०६५ मा पहिलो सरकार बन्दा उनले उपप्रधानसहित गृह मन्त्रालय सम्हाले। तर कटवाल प्रकरणमा सरकार ढल्यो। त्यसपछि पुन: सुशील कोइराला नेतृत्वको सरकारमा एमाले गौतमको नेतृत्वमा सरकारमा सहभागी भयो। कोइराला उपचारका लागि विदेशमा रहँदा कार्यवाहक प्रधानमन्त्री चलाएको अनुभव उनीसँग छ। 

गौतम नेपाली राजनीतिका खेलाडीका रुपमा मात्र चिनिन्नन्, अडिग स्वभावका नेताको रुपमा परिचित छन्। 

पछिल्लोपटक गौतमलाई प्रधानमन्त्रीका रुपमा संसदमा प्रस्तुत गरेका भने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै हुन्। २०७३ भदौ १९ गते संसदबाट प्रधानमन्त्री चयन हुँदै गर्दा प्रचण्डले एमालेबाट तीन प्रधानमन्त्री चयन भैसकेको र चौथो हुने लाइनमा रहेको बताएका थिए। एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल प्रधानमन्त्री भैसकेका छन्। 

प्रचण्डलेको संकेत वामदेवतर्फ केन्द्रित थियो। वामदेव र प्रचण्डबीच व्यक्तिगत रुपमा पनि राम्रो सम्बन्ध छ। एमाले-माओवादी गठबन्धन टुट्न नदिन उनको पहलमा सत्ता साझेदारीको भद्र सहमति पनि भएको थियो जुन तोडिएपछि माओवादी-कांग्रेसको वर्तमान गठबन्धन बनेको हो। 

पराजयको स्पष्ट चित्रका बीच गौतम अहिले प्रधानमन्त्रीको उम्मेद्वार बन्ने एउटा अवस्था यथावत् छ। त्यो हो - भविष्यमा नयाँ गठबन्धन निर्माण हुने अवस्थामा पुन: उम्मेद्वारीको पक्कापक्की।' गौतम यस्तो अवस्थामा भने उम्मेद्वार बन्न सक्छन्। 
  
गौतमको नाम चर्चामा ल्याइए पनि एमालेले मैदानमा खेलाडीको रुपमा प्रधानमन्त्रीको उम्मेद्वार नै नउतार्ने सम्भावन उत्तिकै छ। त्यसका दुई कारण छन्।

पहिलो, एमालेले संसद अवरोधको अवस्था रहेको भन्दै एमालेले प्रधानमन्त्री चयनका लागि सूचना मार्फत् प्रक्रिया अगाडि बढाइएकोमा असहमति जनाइसकेको छ। यस्तोमा प्रक्रियाको विरोधमा एमाले मैदानबाट पहिले नै बाहिरिने र प्रतिस्पर्धामै नउत्रने सम्भावना पनि छ।
यद्यपि एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे खेलाडी नउतार्दैमा मैदान खाली भन्न नमिल्ने तर्क गर्छन्।

'खाली भन्न मिल्दैन, गोल नहुन पनि सक्छ नि,' पाण्डे भन्छन्, 'उम्मेद्वारको विपक्षमा बहुमत पुग्न पनि सक्छ।' प्रधानमन्त्री चयनका लागि संसदमा मत विभाजन हुने अवस्था तर्फ उनको संकेत थियो।

दोश्रो, गौतमलाई मैदानमा उतार्दा पनि एमाले नेतृत्वको गठबन्धन हार्ने सम्भावना उत्तिकै छ। अहिलेको सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ। कांग्रेस, माओवादी केन्द्र, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र मधेसी मोर्चाको साथ देउवालाई हुने देखिन्छ। यस्तोमा प्रतिपक्षी गठबन्धन जित्ने अवस्था छैन। जित सुनिश्चित नहुँदा एमालेले उम्मेद्वार खडा नगर्ने सम्वावना उत्तिकै छ।

गौतमको जीतका लागि कम्तिमा अहिलेको गठबन्धनको माओवादी केन्द्रको समर्थन आवश्यक छ। माओवादी केन्द्रको समर्थन जुटाउन सके उनी जरुर 'हुकुमको एक्का' हुनेछन्। अन्यथा 'चिडीको दुक्का' हुने बाटो गौतमले नरोज्न सक्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell