PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

बहालवाला प्रधानमन्त्री प्रस्तावक बन्दै भावी प्रधानमन्त्रीको उम्मेदवारी दर्ता



रमेश वाग्ले

बहालवाला प्रधानमन्त्री प्रस्तावक बन्दै भावी प्रधानमन्त्रीको उम्मेदवारी दर्ता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहान ११ बजेर २५ मिनेटमा प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन्। 

उनको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष तथा बहालवाला कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' रहेका छन्।

समर्थकमा भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, वर्तमान मन्त्रिपरिषद्का समाज कल्याण मन्त्री तथा अखण्ड पार्टीका कुमार खड्का, विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंह र नेकपा संयुक्तका जयदेव जोशी रहेका छन्। 

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि समर्थन गर्ने भनिए पनि उम्मेदवारी दर्ताको समयमा थापा देखिएका छैनन्।

संसदमा कायम रहेको संख्याको बहुमतले प्रधानमन्त्री निर्वाचित हुने भएकोले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमको संख्या देउवाका लागि निर्वाचित हुन पर्याप्त हुन्छ। 


 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सूचना टाँस गरी प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अघि नबढाउन दबाब दिए पनि संसद सचिवालयले प्रकाशित गरेको प्रधानमन्त्री निर्वाचनका लागि कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम अघि बढेको हो।  

कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २१ गते आइतबार बिहान ११ बजेको बैठकबाट प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु हुनेछ। 

प्रतिपक्षी एमालेले उम्मेदवार उठाउने वा नउठाउने तय भइसकेको छैन। उम्मेदवार उठाउने भए वामदेव गौतमको सम्भावना रहेको एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले बताएका छन्। 

देउवा यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन्। 

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पहिलो चरणको निर्वाचनपछि राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell