PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

देउवाको उम्मेदवारी दर्ता गर्दा 'कसैले नगरेको काम' भन्दै प्रचण्ड दङ्ग



रमेश वाग्ले

देउवाको उम्मेदवारी दर्ता गर्दा 'कसैले नगरेको काम' भन्दै प्रचण्ड दङ्ग

काठमाडौँ : 'बहालवाला प्रधानमन्त्री  भावी प्रधानमन्त्रीको प्रस्तावक बसेको कुनै उदाहरण छ त?’ 

बिहान ११ बजेर ३५ मिनेट जाँदा नयाँ बानेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा प्रस्तावक बस्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूले गर्दै गरेको प्रस्ताव विगतमा कसैले गरे नगरेको विषयमा 'कन्फ्युज्ड' देखिए।

उम्मेदवारी दर्ता गर्न जाँदा नै ‘उदार’ देखिएका प्रचण्ड आफूले गरेको जस्तो काम विगतमा अरुले गरेको हुने नहुने बारे जिज्ञासु देखिँदै प्रश्न गरिरहेका थिए। 

उनको प्रस्तावमा समर्थन जनाउन उनकै लहरमा बसेका अखण्ड नेपाल पार्टीका कुमार खड्का, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र नेकपा संयुक्त जयदेव जोशीले एकसाथ बोले, ‘विगतमा यस्तो कुनै नजिर छैन।‘

त्यसपछि प्रधानमन्त्री प्रचण्ड थप खुशी देखिए। 'हामीले यो एउटा नयाँ नजिर स्थापित गरेका छौं,' प्रधानमन्त्री प्रचण्डले आफ्नै समूहमा भने, 'भविष्यमा पनि यसरी आउँदै गरेका प्रधानमन्त्रीलाई बहालवाला प्रधानमन्त्रीले प्रस्तावक बस्ने संस्कृति निर्माण गर्न यसले सहयोग नै पुग्नेछ।'
प्रधानमन्त्री दाहालले त्यसो भन्दै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले उनीप्रति अनुग्रहित बन्दै मुन्टो हल्लाए। 

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ अघि सरे र शेरबहादुर देउवाको फोटो टाँसिएको फर्म संसद सचिवालयको टिमको नेतृत्व गरिरहेका महासचिव मनोहरप्रसाद भट्टराईतर्फ अघि बढाए। त्यहाँ प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम थियो भने समर्थकमा कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलको। 

महासचिव भट्टराईले सोधे, ‘प्रस्तावकहरु यति दुईजना मात्र हो वा अरु पनि हुनुहुन्छ?’ 

श्रेष्ठले ‘अरु पनि हुनुहुन्छ’ भनेपछि महासचिव भट्टराईले कमर्चारीहरुलाई फाइल अघि बढाउन निर्देशन दिए। 

सचिवालयका कर्मचारीले रजिस्टरमा नाम टिपे। उम्मेदवार शेरबहादुर देउवा, प्रस्तावक पुष्पकमल दाहाल ‘प्रचण्ड’, समर्थक रामचन्द्र पौडेल, विजय गच्छदार, जयदेव जोशी, कुमार खड्का र प्रेमबहादुर सिंह। 

महासचिव भट्टराईले संसद सचिवालयको भरपाई फारममा देउवाको उम्मेदवारी र प्रस्तावकमा नाम भरे। 

भरपाईमा लेखिएको छ, 'मिति २०७४/०२/२१ मा हुने प्रधानमन्त्रीको निर्वाचनमा व्यवस्थापिका–संसदका माननीय सदस्य श्री शेरबहादुर देउवाले माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव र माननीय श्री रामचन्द्र पौडेलसमेत पाँचको समर्थनमा आफूलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचना आज मिति २०७४/०२/२० गते ११:३० बजे दर्ता नम्बर एकमा दर्ता भएकोले यो भरपाइ दिइएको छ।,' 

महासचिवले भरपाई दिएपछि उपस्थित प्रस्तावक समर्थकसहितका दलका सांसद्हरुले ताली बजाए। 

देशको ४० औं प्रधानमन्त्री र चौथो कार्यकालका लागि उम्मेदवारी दिएका देउवा र प्रधानमन्त्री दाहालले कसिलोसँग हात मिलाए।  क्यामेरापर्सनको डिमाण्ड भयो हात हल्लाइदिनुस्। प्रधानमन्त्री र प्रधानमन्त्रीका उम्मेदवार दुबैले हात हल्लाएर अभिवादन गरे। 

सँगै एक अर्काको हात समातेर उठाए। उम्मेद्वारसँगै सबै प्रस्तावक समर्थक र त्यही लहरमा रहेका कांग्रेसका महामन्त्री समेतले हातेसांग्लो बनाएर हात उठाए। 

व्यवस्थापिका संसद्कै शंकर हलमा बैठक बसेर उम्मेदारी दर्ता गर्न आएको सत्तापक्षीय गठबन्धन त्यतै फर्कियो। मिडियाले कमेन्ट लिने मौका पाएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell