PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रधानमन्त्री चयनको प्रक्रियामा एमालेको आपत्ति, प्रतिवाद गर्ने चेतावनी



मनोज सत्याल

प्रधानमन्त्री चयनको प्रक्रियामा एमालेको आपत्ति, प्रतिवाद गर्ने चेतावनी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री चयनको प्रक्रियामाथि प्रश्न उठाउँदै 'प्रक्रियासम्मत' नभएको जनाएको छ। 
एमाले नेता शंकर पोखरेलले 'व्यक्तिले अगाडि बढाएको प्रधानमन्त्री चयनको प्रक्रियाबारे संसद जानकार नरहेको' बताए।

उनले संसदको आइतबारको बैठक पनि अवरोध गर्ने संकेत गरे। सभामुख ओनसरी घर्तीले आइतबार ११ बजेको बैठकबाट नयाँ प्रधानमन्त्री चयन गर्ने गरी प्रधानमन्त्री निर्वाचनको कार्यतालिका शुक्रबार प्रकाशित गरेकी थिइन्। 

'पार्लियामेन्ट त अवरोध नै छ,' एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले भने, 'अवरोधबाट हामी बाहिर गएका छैनौं।'

उनले प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रपतिको पत्र संसदमा पढेर सुनाउने र निर्वाचन अधिकृत तोक्ने परम्परा मिचिएको बताए। 'सभामुखले संसद समक्ष निर्वाचन अधिकृत तोक्ने अनुमति प्राप्त गर्ने प्रक्रिया हो,' उनले भने, 'न राष्ट्रपतिको पत्र संसदलाई सुनाइयो। यो गुप्त रुपमा राखेर संसदलाई जानकारी छैन। निर्वाचन प्रक्रिया संसदले सुरु गरेको होइन। व्यक्तिले सुरु गर्ने प्रक्रिया भित्र संसद जानकार छैन।'

उनले अहिले सूचनामार्फत् प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढाउनु प्रक्रियासम्मत नरहेको प्रतिपक्षी दलको दलील रहेको बताए।

'प्रक्रिया पनि संसदलाई छलेर अगाडि बढाइयो, त्यो पनि बेठिक हो', पोखरेलले भने, 'हामीले प्रतिवाद गर्छौं।'

तर, उनले कसरी प्रतिवाद गर्ने भन्ने खुलाएनन्। 

प्रधानमन्त्री चयनका लागि सभामुखले शुक्रबार महासचिवलाई निर्वाचन अधिकृत तोकेर प्रक्रिया अगाडि बढाएकी थिइन् जसअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी मनोनयन गरिसकेका छन्। 

एमालेले भने उम्मेद्वारी दर्ता गरेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell